२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक



अ+ अ-

गुल्मी, २१ पुस : लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ ।

प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको भार्से ग्यालरी परिसरमा राानको सालिक स्थापना गरिएको हो ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ फोक्सिङ निवासी कर्नबहादुर रानाको जन्म सन् १८९८ मा भएको थियो । उहाँले १९ वर्षको कलिलो उमेरमै सन् १९१९ मा बेलायतका राजा जर्ज पाँचौँबाट भिक्टोरिया क्रस प्राप्त गर्नुभएको थियो । रानाको सन् १९७३ मा ७४ वर्षको उमेरमा निधन भएको थियो ।

रानाको सालिक स्थापनाले दिवङ्गत तथा जीवित सम्पूर्ण लाहुरेहरूको सम्मान भएको सालिकका परिकल्पनाकार लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले बताउनुभयो । इतिहास संरक्षणका लागि व्यक्तिगत अग्रसरतामा सालिक स्थापना गरिएको भन्दै स्थानीयवासीले बुढाथोकीप्रति आभार प्रकट गरेका छन् ।

भार्से भूपू सङ्घको नेतृत्वमा करिब रु १६ लाख लागतमा सालिक निर्माण गरिएको हो । गुल्मेली मूर्तिकार यमबहादुर थापाले एक वर्षभन्दा बढी समय लगाएर रानाको सालिक निर्माण गर्नुभएको हो । नेपाल सरकारका तर्फबाट कुनै औपचारिक सम्मान नपाएकाले व्यक्तिगत लगानीमार्फत उक्त सालिक निर्माण गरिएको भार्से भूपूसङ्घका कोषाध्यक्ष नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण भार्सेमा भूपूगोर्खा ग्यालरी र भार्से ग्यालरी स्थापना गरिएको छ । ग्यालरीमा प्रथम विश्वयुद्ध लड्ने ८४ र दोस्रो विश्वयुद्ध लड्ने १७८ जनाको फोटो र सङ्क्षिप्त इतिहास सङ्कलन गरिएको छ । भूपूगोर्खा ग्यालरीमा हालसम्म पहिलो र दोस्रो विश्वयुद्ध लडेका ३४ जना दिवङ्गत व्यक्तिहरूको तस्बिर तथा विवरण राखिएको छ । ग्यालरीमा कम उमेरमा विश्वकै प्रतिष्ठित पदक भिक्टोरिया क्रस प्राप्त गर्ने कर्नबहादुर राना, भारतीय सेनामा नेपालबाट पहिलो कर्नेल श्रीप्रसाद बुढाथोकी तथा उहाँका पिता गिरीप्रसाद बुढाथोकीको तस्बिरसमेत राखिएको छ ।

भार्सेमा जन्मिए र हाल हङकङमा रहनुभएका लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीको नेतृत्वमा ग्यालरी स्थापना गरिएको हो । उहाँले ग्यालरी निर्माणका लागि अहिलेसम्म करिब रु ५७ लाखभन्दा बढी रकम व्यक्तिगत रुपमा लगानी गरिसक्नुभएको छ ।

ग्यालरीमा हाल भारतीय, बेलायती र नेपाली सेना, प्रहरी तथा राष्ट्रसेवक कर्मचारीहरूको चार सयभन्दा धेरै तस्बिरहरु राखिएको छ ।रासस