इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलमा म्यान्चेस्टर सिटी र लिभरपुल दुबै बराबरीमा रोकिएका छन् ।
म्यान्चेस्टरको गृह मैदान एतिहाद रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा सिटीले पहिलो हाफको ४२औं मिनेटमा टिजानी राइन्डर्सको गोल मद्दतले अग्रता बनाएको थियो । लिगको अंक तालिकामा दोस्रो स्थानमा रहेको सिटीले विजयी भएर पहिलो स्थानको आर्सनललाई थप चुनौती दिने अनुमान गरिएको थियो ।
तर खेलको अन्त्यतिर अतिरिक्त समयको ९४औं मिनेटमा चेल्सीका फर्वार्ड एन्जो फर्नान्डेजले डिबक्स भित्र झुक्याएर सुन्दर गोल गर्दै टिमलाई बराबरीमा ल्याए । यस खेलमा दुबै टिमबाट सुन्दर आक्रमण र बचाउ भएका थिए । खेलमा बराबरी भएपछि सिटीको २० खेलबाट ४२ अंकका साथ दोस्रो स्थानमा छ । आर्सनल भने २० खेलबाट ४८ अंक बनाएर शीर्ष स्थानमा छ र दुबै टिमको अंक दूरी ६ अंक पुगेको छ ।
विगत केही खेलहरुमा नराम्रो प्रदर्शन गरेपछि चेल्सीका मुख्य प्रशिक्षकले पदबाट राजीनामा दिइसकेका छन् । चेल्सीको २० खेलबाट ३२ अंक जोडी पाँचौं स्थानमा पुगेको छ ।
उता, गत सिजनको च्याम्पियन लिभरपुल पनि फूलह्यामसँग स्तब्ध भयो । जितनजिक पुगेको अवस्थामा ९७औं मिनेटमा फूलह्यामका ह्यारिसन रीडले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलपोस्टको दायाँ माथि कुनाबाट छिर्दै जाली चुमेको थियो ।
लिभरपुलका प्रतिभाशाली खेलाडीहरु मोहम्मद सलाह र एकिटिके बेगर मैदानमा ओर्लिएको लिभरपुलमाथि फूलह्यामले निकै पटक शसक्त प्रहार गरेको थियो । यहीक्रममा १७औं मिनेटमा फूलह्यामका ह्यारी विल्सनले पहिलो गोल गरेका थिए ।
खेलको ५७औं मिनेटमा लिभरपुलका फ्लोरिअन विर्जले अफसाइड जस्तो देखिने बल प्रहार गरी गोल गर्न सफल भएका थिए । भिआरएसले उनी अफसाइड नरहेको भन्दै गोलको मान्यता दिएको थियो ।
यस प्रतिस्पर्धामा ९० मिनेट पछिको अतिरिक्त समयमा रोमाञ्चक स्थिति सिर्जना भयो । लिभरपुलका कोडी ग्याप्कोले ९४औं मिनेटमा गोल गरेर टिमको जित लगभग सुनिश्चित गरेको ठानिएको थियो । तर फूलह्याम हार मान्ने स्थितिमा थिएन ।
फूलह्यामका फर्वार्ड ह्यारिसन रीडले ९७औं मिनेटमा आकर्षक गोल गरी खेललाई बराबरीमा ल्याइदिए, र लिभरपुल निराश हुन बाध्य भयो । यो बराबरीसँग लिभरपुलको २० खेलबाट ३४ अंक सहित चौथो स्थानमा छ ।











