१६ असार २०८३, मंगलवार
,
Latest
सम्पादक मिश्रलाई चार महिना कैद परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट परराष्ट्रमन्त्री खनालसँग रूसी महासङ्घका राजदूतको शिष्टाचार भेट देशभरका होटेलको खाद्य गुणस्तर अनुगमन गर्न ७७ वटै सीडीओलाई गृह मन्त्रालयको निर्देशन महान्यायाधिवक्ता डा कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश पर्वतीय विषयलाई विश्व जलवायु एजेण्डाको केन्द्रमा राख्नुपर्छ : वनमन्त्री चौधरी सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा मौद्रिक नीतिले बैंकिङ क्षेत्रका विद्यमान चुनौती सम्बोधन गर्नेमा बैंकर्स संघ आशावादी बजेटको लक्ष्यलाई सघाउने गरी मौद्रिक नीति आउँछ, नीतिगत ‘डिस्कनेक्ट’ अन्त्य हुनुपर्छः डेपुटी गभर्नर पौडेल बिमवाङमा खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्फ्लुएन्जा (फ्लू) बाट बच्न मन्त्रालयको आग्रह



अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडो बढेसँगै इन्फ्लुएन्जा (फ्लू) बाट सुरक्षित रहन आग्रह गरेको छ । मन्त्रालयले जाडो बढेसँगै फ्लू सङ्क्रमण बढ्ने भएकाले बच्न आग्रह गरेको हो ।

जाडो महिनामा धेरै सक्रिय हुने यो भाइरसका कारण शिशुदेखि जवान, अधबैँसे र वृद्धवृद्धा समेत सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिमा इन्फ्लुएन्जा भाइरस सङ्क्रमणको सम्भावना बढी हुने गरेको बताउनुभयो ।

फ्लू इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । यो भाइरसले सबै उमेरका व्यक्तिलाई फ्लू लाग्न सक्छ । फ्लू भएका अधिकांश व्यक्तिलाई चिकित्सकको हेरचाह वा एन्टिभाइरल औषधि आवश्यक पर्दैन ।

दीर्घ रोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लूले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले त्यस्ता व्यक्तिलाई स्वास्थ्यकर्मीको निगरानीमा राख्न प्रवक्ता डा बुढाथोकीले आग्रह गर्नुभयो ।

फ्लू कसरी सर्छ ?

फ्लू भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस सर्न सक्छ । ती छिटा श्वास लिँदा फोक्सोमा पनि जान सक्छन् । भाइरस भएको कुनै सतह छोएर आफ्नो मुख वा नाक छुँदा पनि फ्लू लाग्न सक्छ ।

फ्लूका लक्षण

ज्वरो आउनु, टाउको दुख्नु, जीउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु जस्ता लक्षण देखिने गर्दछन् । फ्लू भएका सबैलाई ज्वरो नआउन सक्छ ।

फ्लू रोकथामका उपाय

फ्लू भएका बिरामीसँग भौतिक दुरी राख्नुपर्दछ । सम्भव भएसम्म बिरामी हुँदा घरमै बस्ने, खोक्दा वा हाच्छिउँ गर्दा आफ्नो मुख र नाक छोप्ने, बेलाबेलामा साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्दछ । शारीरिक रूपमा सक्रिय हुने र प्रशस्त्र तरल पदार्थ र पौष्टिक खाना खाने गर्नुपर्दछ र हातले आँखा, नाक वा मुख छुने गर्नुहँुदैन । रासस