१६ असार २०८३, मंगलवार
,
Latest
जलवायु न्यायमा मन्त्री चौधरीको जोड, पर्वतीय एजेन्डालाई विश्व जलवायु बहसको केन्द्रमा राख्न आग्रह नेपालीहरूको जीवन दर्शन नै सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति… ‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह विदेशी आवासीय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा परेको ओलीको आरोप उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई छिटो, सहज र गुणस्तरीय सेवा दिन निर्देशन पहिरोले सङ्खुवासभाको तेन्छोङ बस्ती विस्थापित, २८ घरपरिवार र स्वास्थ्यचौकी जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी सहिदकी दिदी सुशीला भन्नुहुन्छ, ‘मेरो भाइको नाममा सालिक बनाइयोस्’



अ+ अ-

काठमाडौँ । पूर्वीया थारु समुदायको महान् पर्व जितिया नजिकिँदै थियो । भदौ २४ गते करिब ११ बजेतिर सुशीला चौधरीलाई भाइ विजयले कल गर्नुभयो । हालखबर सोध्दै जितिया मनाउन र काठमाडौँ घुम्न आउनु भनेर प्रस्ताव गर्नुभयो । सुशीलाले जेनजी आन्दोलन शान्त भएको केही दिनपछि जाने सोच गर्नुभएको थियो । फोनमै सुशीलाले विजयलाई आन्दोलनमा नजान र घरमै बस्न आग्रह गर्नुभएको थियो ।

तर दिदीभाइ कुरा भएको केही घण्टापछि अप्रिय खबर सुन्न थालियो । भाइ बुहारी(विजयकी श्रीमती)को आत्तिएको स्वरमा फोन आयो, “दिदी विजयलाई कल गर्दा अर्कै मान्छेले फोन उठाइरहेको छ । उसलाई गोली लागेर सिभिल अस्पताल लगेको छ रे । के गर्ने ?” विजयलाई छातीमा गोली लागेको थियो । विजय नयाँ बानेश्वरस्थित संसद् भवनको पछाडि रहेको बेला उहाँमाथि गोली प्रहार भएको थियो ।

हेटौँडामा बस्दै आउनुभएकी सुशीला सोही दिन जानसक्ने अवस्था थिएन । उहाँ भोलिपल्ट विजयका साथीसँग सिभिल अस्पतालमा भाइको खोजीका लागि जानुभयो । सबै वार्ड हेर्दा पनि विजय भेटिनुभएन । कसैले एकपटक त्रिवि शिक्षण अस्पताल जानु भनेर भन्यो । सुशीलाले भोलिपल्ट भाइको शव देख्नुभयो ।

सुशीला भावुक हुँदै भन्नुहुन्छ, “घरको सबै जिम्मेवारीको उसले लिएको थियो । जेठो भाइलाई पनि पढाएको थियो । घरको एक्लो खम्बा ढल्यो । ऋण लिएर भाइले घर बनाएको थियो । मेरो बिहेमा पनि उसले आर्थिक सहयोग गरेको थियो ।”

सिरहा लहान नगरपालिका–१५ का २६ वर्षीय विजय हरिप्रसाद र जलेश्वरीका कान्छा छोरा हुनुहुन्छ । काठमाडौँको जडीबुटी बस्ने विजय विगत १० वर्षदेखि इलेक्ट्रिसयनका रूपमा काम गर्दै घरको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । सामान्य किसान परिवारमा जन्मिनुभएका विजयले घरपरिवार हेर्न भनेर नै ‘प्लस टु’ पछि पढाइ छोड्नु परेको थियो । आफूले नपढे पनि दाइलाई पढाउँछु भनेर घरको रेखदेखसँगै दाइ अजयलाई उहाँले इञ्जिनियरिङ पढाउन सहयोग गर्नुभएको थियो ।

विजय बितेपछि चौधरी परिवार शोकमा डुबेका छ । परिवारले अब गर्ने भनेर सोच्न सकेका छैन । इञ्जिनियिरिङको पढाइ सकेर बस्नुभएका विजयका दाइ अजय कामको खोजीमा हुनुहुन्छ ।

गाउँले र अन्य चिनेजानेकाले अजय र विजयलाई सँगै देख्दा यही भन्थे– अनुहार पनि उस्तै । आहा कस्तो मिलेका दाजुभाइ । ठ्याक्कै राम लक्ष्मणजस्तो । मीठो बोली व्यवहार ।

हुन पनि वियज परिवारप्रति व्यावहारिक र जिम्मेवार हुनुहुन्थ्यो । त्यसैले उहाँ सबैको प्यारो हुनुहुन्थ्यो । आमाबुवाको आँखामा उहाँ हिरा हुनुहुन्थ्यो । अहिले कसैले भाइको बारेमा सोध्दा बोल्न गाह्रो हुन्छ अजयलाई । मनमा गाँठो पर्छ । अजय भावविह्ल हुँदै भन्नुहुन्छ, “उसको कुरा गर्दा पनि आँसु आउन खोज्छ । म कहिल्यै नरुने मान्छे । उसको मृत्युले मलाई धेरै रुवाएको छ । ऊ हुँदा केही कुराको पनि तनाव हुँदैन थियो । ऊ नभएपछि घरको सहारा नै टुटेको छ ।”

अजय मानिसलाई पुर्नजीवन गराउने कुनै मेसिन भएको भए भाइलाई फेरि जीवित भएको देख्न पाए हुन्थ्यो भनेर कल्पिनुहुन्छ । “मेरो भाइ सीपयुक्त थियो । राम्रो कमाउँथ्यो । घरको सबै जिम्मेवारी लिएको थियो । मलाई पढाएको थियो । मैले जति अरु कसले गुमायो होला र ?” उहाँ बोल्दा बोल्दै रोक्किनुहुन्छ ।

विजयका आफन्त दाइ अमित चौधरी विजयलाई इमान्दार व्यक्तिका रूपमा सम्झिनुहुन्छ । अमित भन्नुहुन्छ, “देशको बलिदानका लागि लडेको थियो । सरकारले प्रतिबद्धता गरेको सबै चिज प्राप्त गरोस् उसको परिवारले ।”

विजयका बुवा दमको रोगी हुनुहुन्छ । आमाको स्वास्थ्य अवस्था पनि त्यति सन्तोषजनक छैन । घरको एक्लो सहारा रहनुभएका विजय नभएपछि उहाँको तीन वर्षको छोरीको भविष्य अन्योल छ । विजयकी दिदी सुशीला सरकारले बुहारीलाई रोजगारी दिनुपर्ने र छोरीको उच्च शिक्षासँगै स्वास्थ्य बिमाको पनि सुनिश्चितता गर्दिनुपर्ने बताउनुहुन्छ ।

जेनजी आन्दोलनमा सहादत प्राप्त गर्नुभएका विजय अब सम्झनामा मात्र हुनुहुन्छ । “सबै कुरा उसैले त हेरेको थियो । ऊ फर्केर आउँदैन थाहा छ । कम्तीमा उसको मृत्यु भएको ठाउँमा सरकारले सालिक बनाइदियोस्”, दिदी सुशीला भन्नुहुन्छ । बुनु थारु/रासस