काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताउनुभएको छ ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उहाँको भनाइ छ । उहाँले सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गर्नुभयो । उहाँले मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहो¥याउनुभयो । उहाँले मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै नेकपा सोहीअनुरुप अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘सबै राजनीतिक दलहरुले आत्मसमिक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समिक्षा पनि ग¥यौं । हामी संकल्प लियौँ कि ती कमीहरु अब सच्याउनुपर्छ र रुपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । यो असाधार परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीद्वारा मात्रै लिन सकिन्छ । परम्परागत ढंगले चल्ते चलाते ढंगले मात्रै मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकतावद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौँ ।’
उहाँले मुलुकमा उत्पन्न राजनीतिक तथा सामाजिक संकटको सामना गर्नकै लागि २० भन्दा बढी कम्युनिष्ट घटकहरुलाई एकठाउँमा ल्याइएको जिकिर गर्नुभयो ।












