१२ असार २०८३, शुक्रबार
,
Latest
लगातार तेस्रोपटक स्थगित भयो प्रतिनिधिसभा बैठक, आइतबार बिहान ११ बजे बस्ने काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलविद्युत् आयोजनामा पूर्व मञ्जुरीको व्यवस्थाबाट आदिवासी/जनजाति समुदाय लाभान्वित



अ+ अ-

काठमाडौँ। स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी (एफपिआइसी) को अन्तरराष्ट्रिय प्रावधानअनुसार नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट आदिवासी÷जनजाति समुदायको विकासका लागि योजनाबद्ध बजेट तर्जुमा सुरु भएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् र आयोजनास्थलका समुदायका प्रतिनिधिको सहजीकरणमा २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१, १०६१ मेगावाटको माथिल्लो अरुण र ६७० मेगावाट दूधकोशी जलाशय क्षेत्रमा आदिवासी जनजाति विकास योजना (आइपिपी) अनुसार आयोजनाबाट बजेट प्रबन्ध हुन थालेको हो ।

कुनै पनि ठूला आयोजना सञ्चालन गर्दा प्रकृतिको दोहन हुने र आदिवासी जनजातिको परम्परा तथा रोजीरोटी गुम्न सक्ने भएकाले आयोजना सञ्चालन पूर्व ती समुदायको पूर्व मञ्जुरी लिनुपर्ने र त्यसबापत आदिवासी जनजाति विकास योजना तर्जुमा गरी बजेट विनियोजन गर्नुपर्ने प्रक्रिया नेपालमा यसअघि कार्यान्वयनमा आएको थिएन । यसबाट आयोजना पक्ष र समुदाय दुवैलाई लाभ हुने स्थिति उत्पन्न भएको नेपाल आदिवासी जनजाति महासङ्घले जनाएको छ ।

महासङ्घ, सङ्घीय परिषद्का महासचिव दिवस राईले समुदायलाई केवल प्रभावित पक्षका रूपमा नभई विकासको साझेदारका रूपमा स्थापित गर्न अन्तरराष्ट्रिय मान्यताअनुसार समुदायले अधिकारमुखी आन्दोलन सञ्चालन गरेको प्रतिफलका रूपमा यो प्राप्ति भएको बताउनुभयो । “आयोजना सञ्चालन गर्दा अब यस प्रकारको मञ्जुरी प्रक्रिया अवलम्बन गर्नुपर्छ । नत्र लगानी हुँदैन । सरकारले आयोजना बनाउन पाउँदैन । यो एक प्रकारको सर्तसहितको मञ्जुरी हो, सर्त पूरा नभए समुदायले चाहेको समयमा फिर्ता लिन पनि सक्नेछन्”, उहाँले भन्नुभयो ।

महासचिव राईले स्थानीय सरकार, आदिवासी जनजातिको समुदायको समिति, परम्परागत संस्था, युवा, महिला, ज्येष्ठ नागरिकलगायत सबैको प्रतिनिधित्वमा सहमति खोजिने र सहमति हुन्न भन्ने अधिकार आदिवासी जनजातिको रहने बताउनुभयो ।

यस प्रकारको बजेट प्रबन्धबाट आयोजना प्रभावित क्षेत्रमा स्थानीय रूपमा धारा, गुम्बा आदि विकास कार्यक्रममा बजेट प्राप्त हुनेछ  । महासङ्घमा आफूहरूले नेतृत्व गरेपछि आदिवासी जनजाति समुदायको अधिकारमुखी आन्दोलनले गति लिएको र उक्त कार्य पनि एक महत्त्वपूर्ण उपलब्धि भएको उहाँको भनाइ छ ।

महासङ्घका उपाध्यक्ष लाक्पा शेर्पा कुनै आयोजना सञ्चालन हुँदा आदिवासी जनजाति समुदायलाई प्रभावित हुन सक्ने र प्राकृतिक स्रोतको दोहन हुने भएकाले आदिवासी जनजातिहरूको भूमि, क्षेत्र र स्रोतहरूको अधिकारलाई असर गर्ने परियोजनाहरूको सञ्चालन गर्दा स्वतन्त्र पूर्व सूचनासहितको मञ्जुरी प्रक्रियाको आरम्भ हुनु सकारात्मक भएको बताउनुहुन्छ । उक्त प्रक्रियामा सरकार पक्ष राष्ट्र भए पनि कार्यान्वयन नभएको सन्दर्भमा हरित ऊर्जाको प्राथमिकीकरणका लागि पनि कोसेढुङ्गा हुने भएको छ  ।

कार्बन उत्सर्जन नहुने खालका उत्पादनमा प्राथमिकतासहित विश्व बैङ्कलगायत अन्तरराष्ट्रिय बैङ्क र लगानीकर्ताले यसलाई अँगालेपछि लगानी भित्र्याउन सहज हुने भएकाले पनि पूर्व मञ्जुरी र योजनाबद्ध विकासका लागि बजेट व्यवस्थाको क्रम सुरु भएको शेर्पाले बताउनुभयो ।

जलविद्युत् आयोजना विकास, निर्माण र सञ्चालनका क्रममा प्रभावित आदिवासी जनजाति समुदायको अधिकार सुनिश्चित गर्न एफपिआइसी प्रक्रिया अवलम्बन गर्न अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि–१६९ मा नेपाल पक्ष राष्ट्र भइसकेको छ ।

साथै संयुक्त राष्ट्रसङ्घीय आदिवासी जनजाति अधिकार घोषणापत्रले पनि यस अधिकारलाई सुनिश्चित गरेको छ । माथिल्लो त्रिशूली, माथिल्लो अरुण र दूधकोसी जलाशय आयोजना क्षेत्रका आदिवासी जनजाति समुदाय लामो समयदेखि भूमि उपयोग, प्राकृतिक स्रोतको पहुँच तथा जीविकोपार्जनमा परेको प्रभावका विषयमा उचित क्षतिपूर्ति र लाभको माग गर्दै आएका थिए । महासङ्घ सङ्घीय परिषद्को समन्वयमा सरोकार भएका निकायसँग भएको छलफल र सहमतिपछि लाभांश वितरण प्रक्रिया अघि बढाइएको जनाइएको छ ।

आदिवासी जनजातिको अधिकारसम्बन्धी घोषणापत्रको धारा १९ ले राज्यहरूलाई आदिवासी जनजातिलाई असर गर्न सक्ने विधायकी वा प्रशासनिक उपायहरू अपनाउनु र कार्यान्वयन गर्नुअघि उनीहरूको स्वतन्त्र, पूर्व र सूचित सहमति प्राप्त गर्नका लागि प्रतिनिधि संस्थाहरूमार्फत सद्भावपूर्वक परामर्श र सहयोग गर्न आवश्यक हुने भनेको छ । घोषणापत्रको धारा ३२ ले आदिवासी जनजातिलाई असर गर्ने कानुन वा प्रशासनिक नीतिहरू अपनाउन भनेको छ ।

खानी र अन्य उपयोग वा स्रोतहरूको शोषणसहित आदिवासी जनजातिको भूमि, क्षेत्र र स्रोतहरूको अधिकारलाई असर गर्ने परियोजनाहरूको सञ्चालन गर्दा स्वतन्त्र पूर्व सूचनासहितको मञ्जुरी प्रक्रिया गराउनुपर्ने भनिएको छ ।

योजनामा स्थानीय आदिवासी जनजाति समुदायका लागि आधारभूत खानेपानी, शिक्षा, स्वास्थ्य, धार्मिक परम्परागत रीतिथिति, स्थानीय पूर्वाधार तथा जीविकोपार्जन प्रवर्द्धनका कार्यक्रम समावेश गरिन्छ । रासस