१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिथिलामा वसन्तपञ्चमीसँगै कृषि नववर्षको उत्सव



अ+ अ-

महोत्तरी। मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा विद्याकी अधिष्ठातृ सरस्वतीको पूजनोत्सव वसन्तपञ्चमी पर्वकै दिन आज कृषि नववर्ष उत्सव मनाउने परम्परा छ ।

चन्द्रमास गणनाअनुसार माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्तपञ्चमीका दिन मिथिलामा कृषि नववर्ष मनाइने पुरानो प्रचलन अद्यापि कायम छ ।

मिथिला मुख्यतः कृषि कर्मको थलो मानिन्छ । यहाँका अधिकांश धार्मिक तथा सांस्कृतिक पर्व कृषिसँग जोडिएका छन् । श्रीपञ्चमी कृषि क्षेत्रको नयाँ वर्ष प्रारम्भ हुने दिनकै रूपमा मानिने मैथिल परम्परा रहेको मिथिला संस्कृतिका जानकारहरू बताउँछन् ।

“श्रीपञ्चमी किसानका लागि नववर्षको प्रारम्भ हो, यसै दिन किसान अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको वरण गर्छन्”, जलेश्वर–५ का बासिन्दा तथा मिथिला संस्कृतिविद् ध्रुव राय बताउनुहुन्छ । “यसै दिन किसानले वर्षभरि हलोफाली पिट्ने, हँसिया उभार्ने र अन्य कृषि ज्यावल मर्मत गर्ने लोहार चयन गर्छन् ।”

श्रमिक र लोहार वरणको यो परम्परामा किसानले वर्षभरि दिने पारिश्रमिकको टुङ्गो गरेर यिनलाई दोसल्ला ओढाएर वरण गर्दै मिष्टान्न भोजन गराइ दक्षिणा दिने चलन रहेको अवकाशप्राप्त सहप्राध्यापक राय बताउनुहुन्छ ।

आजै किसानले खेतबारी जोत्ने परम्परा छ । खेत जोतेर वर्षभरि खेतीपातीको अनुकूल समय रहोस् भन्ने कामना किसानको हुन्छ, जलेश्वर–४ सुगाभवानीपट्टीका ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । यस दिन खेत जोतेपछि वर्षभरि कृषि कर्मको प्रतिफल पाइने जनविश्वास रहेको पूर्वप्रशासक झा बताउनुहुन्छ ।

मिथिलामा यस दिन हलो, कुटोकोदालोसहितका कृषि ज्यावल धोइपखाली पूजा गर्ने चलन रहेको झा सम्झनुहुन्छ । कृषि ज्यावलको पूजा गरिँदा यी सामान टिकाउ हुने र शुभ फलदायक हुने माथिलावासीको विश्वास रहेको उहाँ बताउनुहुन्छ ।

आजैदेखि वसन्त ऋतु सुरु हुने, ठन्डी घट्ने र दिन लामा हुने भएकाले मौसमी परिवर्तनले चैती फसल–गहुँ, चना, मुसुरो, रहरी र सस्र्यूँलाई अनुकूलता हुने किसानको विश्वास छ ।

आजै बालीको बीउका लागि उन्नत दाना छान्ने, सुकाउने र सुरक्षित भण्डारण गर्ने परम्परा रहेको गौशाला–१० बटुवाका ७५ वर्षीय किसान लक्ष्मीप्रसादसिंह कुशवाहा बताउनुहुन्छ ।

यसै दिन शुद्धीकरण गरिएको बीउलाई धूप–आरती देखाउने चलन रहेको उहाँ बताउनुहुन्छ । गोबरको भकारो पनि आजैदेखि व्यवस्थापन गर्ने प्रचलन रहेको उहाँको भनाइ छ ।

आज कृषि नववर्ष मानिने परम्परामा कृषि श्रमिकको छनोट र वरण नपाइएको कैयौँ वर्ष भइसकेको भङ्गाहा–४ रामनगरका ६० वर्षीय किसान गोविन्दलाल थारु बताउनुहुन्छ ।

कृषि कर्मका युवा श्रमिक कामका लागि भारतको हरियाणा र पञ्जाब जाने प्रवृत्तिले यहाँ जनशक्तिको प्राप्ति कठिन भएको उहाँको अनुभव छ । यसबाहेक तीनै तहका सरकारबाट वास्तविक किसानले कृषिसम्बद्ध सुविधा र सहुलियत नपाउँदा परम्परा धान्न कठिन भएको उहाँको भनाइ छ । रासस