काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहनकुमार श्रेष्ठले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन राजनीतिबाट पछि हटेकोप्रति व्यक्तिगत रूपमा दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत श्रेष्ठले गोरखा क्षेत्र नम्बर–२ बाट उम्मेदवारी फिर्ता लिने निर्णयप्रति टिप्पणी गर्दै बाबुराम भट्टराईले अब अनुभवी र परिपक्व नेताको हैसियतमा देशलाई सही दिशामा लैजान वैचारिक नेतृत्व दिनुपर्ने विश्वास व्यक्त गरेका छन्।
श्रेष्ठले भट्टराईको विगतको सशस्त्र द्वन्द्वकालप्रति आलोचनात्मक धारणा राख्दै त्यस समयमा भएका मन्दिरमाथिका आक्रमण, धार्मिक व्यक्तिमाथिको दुर्व्यवहार र समाजमा परेको नकारात्मक प्रभाव नेपाली समाजले बिर्सन नसकेको उल्लेख गरेका छन्। तर पछिल्लो समय भट्टराईमा देखिएको धार्मिक झुकाव र आत्मचिन्तनले उनका विगतका केही पक्षहरू क्षमायोग्य बन्दै गएको संकेतसमेत उनले गरेका छन्।
उनले ‘आखिर श्रीकृष्ण रहेछन् एक’ भन्ने तत्वज्ञान एक क्रान्तिकारी नेतामा देखिनु सकारात्मक भएको उल्लेख गर्दै चुनावी राजनीतिबाट बाहिरिएपछि भट्टराईले देश भूराजनीतिक जटिलतामा फस्दै गएको वर्तमान अवस्थामा नयाँ समझदारी, विचार निर्माण र जनमत सिर्जनामा नेतृत्व लिनुपर्ने बताएका छन्।
श्रेष्ठले नेपाल सुरक्षित हुन राजसंस्थाको अस्तित्व अस्वीकार गरेर सम्भव नहुने धारणा व्यक्त गर्दै, जीवनको उत्तरार्द्धमा बीपी कोइरालाले जस्तो सोच विकास भएको थियो, त्यही उचाइबाट भट्टराईले पनि सोच्ने विश्वास व्यक्त गरेका छन्।
‘सजिलो र भीडको पछि लाग्ने राजनीति उहाँको आगामी बाटो हुने छैन,’ श्रेष्ठले लेखेका छन्, ‘विचार र सिद्धान्तविहीन आवेगको राजनीतिमा उहाँ सामेल हुनुहुने छैन भन्ने विश्वास लिएको छु।’
उनले गोरखाले यसपटक पनि भट्टराईजस्तो जनप्रतिनिधि गुमाएको टिप्पणी गर्दै उक्त क्षेत्रका मतदाताका लागि यो अवसर गुमेको बताएका छन्।












