१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुरिलो खेतीमा कृषकको आकर्षण बढ्यो



अ+ अ-

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाका कृषक व्यावसायिक कुरिलो खेतीमा आकर्षित भएका छन् । स्वास्थ्यका लागि फाइदाजनक र आम्दानी राम्रो हुने भएपछि यहाँका कृषकले व्यावसायिक तवरबाट कुरिलो खेती गर्न थालेका छन् ।

वडा नं ८ बराङ्दी क्षेत्रमा कुरिलो खेतीतर्फ कृषकको आकर्षण बढ्दो छ । बजारमा कुरिलोको माग बढ्दो र बजार मूल्य राम्रो पाएपछि यहाँका कृषक यस खेतीप्रति आकर्षित भएका हुन् । स्थानीय जीवलाल घिमिरेले तीन रोपनी क्षेत्रमा व्यावसायिक रुपमा कुरिलो खेती गर्नुभएको छ । कुरिलो बिक्रीबाट गत वर्ष रु पाँच लाखको आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ ।

यहाँ उत्पादन भएको कुरिलो बुटवल बजार, बुटवलको भाटभटेनी र तानसेन बजारबाट माग आउने गरेको कृषक लुमकला घिमिरे बताउनुहुन्छ । प्रतिकिलो रु चार सयमा गाउँबाटै कुरिलो बिक्री भइरहेको छ । घिमिरेले जेटिएको जागिर छाडेर कुरिलो खेती गर्नुभएको हो । उहाँले विभिन्न ठाउँठाउँमा कुरिलो खेतीसम्बन्धी तालीम पनि दिने गर्नुहुन्छ ।

सोही ठाउँकै केशवमणि बस्यालले छिमेकीले कुरिलो खेती लगाएर राम्रो कमाई गरेको देखेपछि गत वर्ष ८५ बोट कुरिलोका बिरुवा लगाउनुभएको छ । यस वर्ष करीब दुई सय बोट कुरिलो पु¥याउने उहाँको लक्ष्य छ । “पहिलो वर्षमा नै नसोचेको उत्पादन भयो, घरायसी प्रयोजन, आफन्त, छिमेकीलाई कोशेलीका रुपमा नयाँ उत्पादन दिएर पनि केही बजारमा बिक्री गरियो, अब बिस्तारै बर्सेनि व्यावसायिक तवरले कुरिलो बढाउँदै जानेछु”, बस्यालले भन्नुभयो ।

अन्नबाली लगाएर उत्पादन राम्रो लिन नसकिने जग्गामा साबित्रा बस्यालले कुरिलो लगाउन थाल्नुभएको छ । उहाँले परीक्षणका रुपमा ९० बोटमा कुरिलो खेतीको व्यवसाय शुरु गर्नुभयो । उहाँ राम्रो उत्पादन हुन थालेपछि यो वर्ष तीन सय बिरुवा थप गर्ने गरी बेर्ना तयार पार्दै हुनुहुन्छ । अन्य तरकारी बालीको तुलनामा कुरिलो खेतीबाट दोब्बर बढी आम्दानी लिन सकिने हुँदा कुरिलो खेतीलाई नै प्राथमिकता दिने उहाँको भनाइ छ ।

थोरै समय मिहिनेत गरेपछि प्रतिफल राम्रो पाइने, स्वास्थ्यका लागि अति उपयोगी, बजार भाउ राम्रो रहेकाले कुरिलो लगाएर कृषकले मनग्य आम्दानी गर्न सक्ने कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ । एकपटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । भिरालो पानी नजम्ने जमीनमा यसको उत्पादन राम्रो हुन्छ ।