३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नियोजित रूपमा बदनाम गराउने प्रयास भएको कुलमानको गुनासो



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्षमा कुलमान घिसिङले आफू विरुद्ध नियोजित रूपमा बदनाम गराउने प्रयास भैरहेको गुनासो गर्नुभएको छ ।

सामाजिक संञ्जालमा एक सन्देश राख्दै घिसिङले जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्तो गुनासो गर्नुभएको छ ।

उहाँले भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन सबैमा हार्दिक आग्रह गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ

जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा मेरो सहभागिताबारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। आन्दोलनपछिको विषम परिस्थितिमा सम्माननीय प्रधानमन्त्री सुशीला कार्की तथा जेन–जी आन्दोलनका अगुवाहरूको अनुरोधमा मैले सरकारमा सहभागिता जनाएको हुँ।

सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको थिएँ। तर तत्कालीन परिस्थितिमा मेरो सहभागिता आवश्यक भएको, जेन–जी आन्दोलनका भाइबहिनीहरूको पनि यही माग रहेको र पछि राजनीतिमा जानु परेमा राजीनामा दिएर जान सकिने सम्मानीय प्रधानमन्त्रीको आग्रहपछि मैले जिम्मेवारी स्वीकार गरेको हुँ। यस विषयलाई सम्माननीय प्रधानमन्त्री स्वयंले सार्वजनिक रूपमा पनि उल्लेख गर्दै आउनुभएको छ।

आन्दोलनपछि राज्य संरचना प्राय: शून्यताजस्तो अवस्थामा पुगेको बेला चुनौती स्वीकार गर्दै मैले जिम्मेवारी सम्हालेको हुँ। आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ। म पदलोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा ११५ दिनको अवधिमा भएका कामकारबाहीहरूले मेरो जिम्मेवारीबोध पुष्टि गर्छन्।

अत: मेरो विरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायसहित भइरहेका भ्रमपूर्ण प्रचार र टिकाटिप्पणीबाट प्रभावित नहुन सबैमा हार्दिक आग्रह गर्दछु। उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु।