१५ असार २०८३, सोमबार
,
Latest
किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च
तपाईं के खोज्दै हुनुहुन्छ ?

छ महिनाभित्र बाँकेमा ८६ नयाँ कुष्ठरोगी



फाइल फोटो
अ+ अ-

बाँके। चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ ।

साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् ।

७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मङ्गलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् ।

तीमध्ये बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका प्रमुख थारुले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको छ ।

अस्पतालमा कुष्ठरोगको आशङ्कामा चेकजाँचका लागि आएका ३४२ मध्ये ८६ जनामा रोग पुष्टि भएको हो । स्मियर परीक्षण (सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने सुरक्षित र छिटो परीक्षण विधि) मार्फत परीक्षण गर्दा ५६ जनामा पोजेटिभ  देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको अन्तरङ्ग सेवाबाट सोही अवधिमा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ वटा नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथाम तथा सहयोगका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ । साथै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालका प्रमुख थारुले जानकारी दिनुभयो ।

कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत कुष्ठरोग तालिम दिइएको छ । त्यसैगरी स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य संस्थासँग आवद्ध १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत क्षमता अभिवृद्धि तालिम दिइएको अस्पतालले जनाएको छ । समुदायस्तरमा जनचेतना विस्तार गर्ने उद्देश्यले २२ वटा आमा समूहका करिब छ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विभिन्न विद्यालयमा सञ्चालन गरिएका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन् ।

यसैगरी दुई वटा क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई पनि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको अस्पतालका प्रमुख थारुले बताउनुभयो । समुदायमै कुष्ठरोग पहिचानका लागि दुई स्थानमा गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ । साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएका उहाँले उल्लेख गर्नुभयो ।

हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ । बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको जनाउँदै प्रमुख थारुले हालसम्म १३१ वटा अध्ययन नमूना सङ्कलन भइसकेको बताउनुभयो ।

कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले समुदायमा कुष्ठरोगबारे चेतना बढाउन, विद्यमान चुनौतीलाई सामना गर्न र कुष्ठरोगमुक्त नेपाल निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझै पनि सामाजिक कलङ्कका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै यस्ता भ्रम चिर्न सञ्चारमाध्यम र पत्रकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा विभिन्न जिल्लाबाट आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाका थिए । गत आवको सोही छ महिनामा ५८ जना नयाँ बिरामी भेटिएकामा यसवर्ष सोही अवधिमा उक्त सङ्ख्या बढेर ८६ पुगेको छ । चौबिस शय्या क्षमताको यस अस्पतालमा हाल १४ जना बिरामी भर्ना भएर उपचाररत छन् । रासस