२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिग्गज अभिनेता धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषण प्रदान गरिने



अ+ अ-

एजेन्सी । दिग्गज अभिनेता धर्मेन्द्रलाई आइतबार मरणोपरान्त पद्म विभूषणबाट सम्मानित गर्ने घोषणा गरिएको छ।

चलचित्र क्षेत्रमा उनको लामो समयदेखिको महत्वपूर्ण योगदानको कदरस्वरूप यो सम्मान प्रदान गर्न लागिएको हो। धर्मेन्द्रको गत वर्ष नोभेम्बर २४ मा ८९ वर्षको उमेरमा निधन भएको थियो।

यो घोषणापछि उनकी पत्नी तथा अभिनेत्री हेमा मालिनीले सामाजिक सञ्जालमा एक पोस्ट साझा गरेकी छन्। धर्मेन्द्रको तस्वीरसहित उनले लेखेकी छन् कि सरकारले ‘धरमजी’ले चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै पद्म विभूषण प्रदान गर्ने निर्णय गरेकोमा आफूलाई गर्व लागेको छ। उनले सम्पूर्ण परिवार अत्यन्तै खुशी र उत्साहित रहेको बताएकी छन्।

पूरा परिवार खुशी र उत्साहित छः हेमा मालिनी

इन्डिया टुडेसँग कुरा गर्दै हेमा मालिनीले धर्मेन्द्रलाई यो सम्मान प्राप्त हुनु परिवारका लागि गर्वको क्षण भएको बताइन्।

“हामी चाहन्थ्यौँ कि उहाँ जीवित रहँदा नै यो सम्मान प्राप्त होस्, ताकि हामीसँगै उहाँले ग्रहण गर्न सक्नुहुन्थ्यो। तर पनि हामी खुशी छौँ। उहाँ यो सम्मानका पूर्ण रूपमा योग्य हुनुहुन्थ्यो। उहाँले चलचित्र उद्योगलाई धेरै ठूलो योगदान दिनुभएको छ,” उनले भनिन्।

हेमा मालिनीले आज उनका प्रशंसकदेखि चलचित्र उद्योगका व्यक्तिसम्म सबैले धर्मेन्द्रका बारेमा सकारात्मक कुरा गरिरहेको देख्दा आफ्नो मन गर्वले भरिने बताइन्। सबैले उहाँलाई यो सम्मान मिलोस् भन्ने चाहना राखेको उनले बताइन्।

उनका अनुसार धर्मेन्द्रले कहिल्यै पुरस्कारको लोभ राखेनन्। जीवनकालमा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाहेक कुनै पनि फिल्मफेयर अवार्ड प्राप्त भएन। यद्यपि, विभिन्न स्थानबाट दर्शक र शुभचिन्तकले दिएको माया र सम्मान अत्यन्तै भावुक बनाउने खालको रहेको उनले बताइन्।

हेमा मालिनीले धर्मेन्द्र केवल अभिनेता मात्र नभई एक सच्चा कलाकार भएको उल्लेख गरिन्। उनले विविध किसिमका भूमिका निर्वाह गर्दै चलचित्र उद्योगलाई समृद्ध बनाएको र धेरै युवाका लागि प्रेरणा बनेको बताइन्।

ईशा देओलले पनि खुशी व्यक्त गरिन्

धर्मेन्द्रलाई पद्म विभूषण प्रदान गरिने घोषणाप्रति छोरी ईशा देओलले पनि खुशी व्यक्त गरेकी छन्। साथै उनले दाजु सनी देओलको आगामी फिल्म बोर्डर–२ को पनि प्रशंसा गरेकी छन्।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्,
“गणतन्त्र दिवसको शुभकामना। हाम्रो पापालाई पद्म विभूषण प्रदान गरिँदैछ भन्नेमा धेरै खुशी छु। बोर्डर–२ परिवारसँगै हेर्नुहोस्। हामीले यो फिल्म हिजो राति हेरेका थियौँ।”

ईशाले सनी देओललाई ट्याग गर्दै लेखेकी छन्, “तपाईं सबैभन्दा उत्कृष्ट हुनुहुन्छ।” साथै फिल्मको सम्पूर्ण कलाकारलाई ट्याग गर्दै उनले लेखेकी छन्, “शानदार, सलाम।”

आर. माधवनलाई पद्म श्री प्रदान गरिने

यता अभिनेता आर. माधवनलाई पद्म श्रीबाट सम्मानित गरिने घोषणा गरिएको छ। यस अवसरमा माधवनले सामाजिक सञ्जालमार्फत एक पोस्ट गर्दै यो सम्मान आफ्नो जीवनकै सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।

उनले यो सम्मान पूर्ण सम्मान र विनम्रताका साथ स्वीकार गर्ने उल्लेख गरेका छन्। साथै उनले यो उपलब्धि आफ्नो सम्पूर्ण परिवारको समर्थन र विश्वासको परिणाम भएको बताएका छन्।