२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजाद्वारा जानकी मन्दिरमा विशेष पूजा पाठ



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ।

आफ्नो धार्मिक भ्रमणका क्रममा दिउँसो मन्दिर पुग्नुभएका उहाँले जानकी माताको दर्शन गरी देशको कल्याणको कामना गर्नुभयो।

पूजापाठ सम्पन्न भएपछि जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले पूर्व राजा शाहलाई जानकी मन्दिरको चाँदीको प्रतिमा उपहार स्वरूप प्रदान गर्नुभयो।

सो अवसरमा महन्थ दासले मुलुकको पछिल्लो राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै २०४७ साल पछिका संवैधानिक व्यवस्था हटाउन पूर्व राजालाई आग्रह गर्नुभयो। उहाँले देशमा राजतन्त्रसहितको हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशभरका सम्पूर्ण साधुसन्तहरू आन्दोलनमा उत्रिन र साथ दिन तयार रहेको समेत उद्घोष गर्नुभयो।

मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व राजा शाहले आफ्नो जनकपुर भ्रमण विशुद्ध धार्मिक मात्र रहेको बताउनुभयो।

यद्यपि, उहाँलाई हेर्न र स्वागत गर्न जनकपुरधामका साथै छिमेकी जिल्लाहरूबाट समेत हजारौँको सङ्ख्यामा सर्वसाधारण मन्दिर परिसरमा ओर्लिएका थिए। उपस्थित समर्थकहरूले ‘राजा आऊ देश बचाऊ’ र ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ’ जस्ता नारा लगाएका थिए।