आसन्न प्रतिनिधिसभा निर्वाचनका केही इपिसेन्टरमध्येको एक रुकुम पूर्व पनि हो । जहाँ नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बनेका छन् । यसकारण यो निर्वाचन क्षेत्र देशका अन्य केही निर्वाचन क्षेत्रजस्तै चर्चा र चासोको केन्द्रमा छ ।
हुनत रुकुम पूर्व माओवादी सशस्त्र युद्धको केन्द्र हो, तर पनि यत्तिले मात्र पहिलेका निर्वाचनहरुमा यो जिल्ला र क्षेत्र चर्चामा रहँदैनथ्यो । यसपटक भने प्रचण्डको उम्मेदवारीसँगै चर्चामा छ र चुनावी माहोल पनि त्यसैगरी तातेको देखिएको छ ।
माओवादी आन्दोलनको केन्द्र रहेकाले रुकुमप्रति आफ्नो विश्वास रहेको भन्दै प्रचण्ड यसपालि त्यहाँ त पुगेका छन् तर उनले सोचेजस्तै विश्वासको अवस्था भने त्यहाँ देखिँदैन । किनभने पहिले पहिले जस्तो सजिलो र सहजै अनुमान लगाउन सकिने खालको चुनाव यसपटक हुनेवाला छैन ।
प्रचण्डले अहिले त्यहाँ मुख्य रुपमा सामना गरेको आरोप भनेको टुरिष्ट उम्मेदबार भन्ने पनि हो । किनभने यसअघि प्रचण्ड काठमाडौँ, सिराहा, चितवन, गोरखा हुँदै अहिले त्यहाँ पुगेका छन् । त्यसैले प्रचण्डमाथि यहाँका जनताले सुरक्षित सेल्टरको खोजीमा आइपुगेका उम्मेदबारको रुपमा टिप्पणी गर्ने गरेका छन् ।
त्यसैले अहिले त्यहाँ प्रचण्डसामूको मुख्य चुनौती भनेको आफ्ना साथमा माओवादी पार्टी नै नहुनु हो । यसकारण पनि पूर्वमाओवादीका कतिपय कार्यकर्ताहरुले प्रचण्डसँग प्रश्न गर्ने गरेका छन् कि माओवादी क्रान्तिको थलोमा त आउनुभयो तर माओवादी पार्टी नै छोडेर आउनुभयो । हुन पनि चुनावकै मुखमा प्रचण्डले आफू संयोजक रहेर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेका छन् ।
यसकारण पनि यहाँका पूर्व माओवादी केन्द्रका कार्यकर्ताहरुले प्रचण्ड आगमनलाई आन्दोलनको सम्मान र ऐतिहासिक निरन्तरताको प्रतीकका रूपमा व्याख्या गर्ने गरेका छन् । तर उता विपक्षीहरु भने यसो नभएर प्रचण्ड आफ्नो राजनीतिक भविष्य खोज्दै यहाँ आएको बताउँछन् । अनि नेकपा बाहेकका अरु सबै दलले भने प्रचण्डको राजनीतिक बाध्यता एवं छहारी खोज्दै रुकुमपूर्व सम्म आइपुगेको भनेर व्याख्या गर्ने गरेका छन् ।
नेकपाका संयोजक प्रचण्डसहित यस पटक यो क्षेत्रमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापामगर, नेकपा (एमाले) बाट लीलामणि गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीबाट लखनकुमार थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार छन् । कुसुम संसदको कृषि तथा सहकारी समितिकी सभापति हुन् भने प्रलोपाबाट उम्मेदबारी दिने पुन यहाँका स्थानीय एवं सहिद परिवारका व्यक्ति हुन् ।
यता हिजोमात्र प्रलोपा र एमालेबीच रुकुमपूर्वका दुवै क्षेत्रमा एमालेले प्रलोपालाई सहयोग गर्ने सहमति गरेको छ । यो जिल्ला जनार्दन शर्माको जिल्ला पनि भएकाले र उनको प्रभावका मतहरुमा एमालेका थपिँदा प्रचण्डलाई परीक्षा पास गर्न गाह्रो पर्न सक्ने स्थिति पनि देखिँदैछ । तर यो पछिल्लो गठबन्धनले प्रचण्डलाई कुनै पनि असर नगर्ने धारणा प्रचण्डपक्षीय नेता तथा कार्यकर्ताहरुको रहेको छ ।
हुनत यहाँ मुख्य प्रतिस्पर्धा माओवादी केन्द्र र नेकपा (एमाले) बिच हुने देखिएको थियो । किनभने एमालेका उम्मेदबार गौतम स्थानीय रूपमा प्रभाव जमाएका, सङ्गठनमा बलियो पकड भएका व्यक्ति हुन् । २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट तत्कालीन नेकपा माओवादी केन्द्रका उम्मेदवार पूर्णबहादुर घर्ती विजयी भएका थिए । उनले १२ हजार २६२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार कैलाशकुमार मल्लले पाँच हजार २११ मत प्राप्त गरेका थिए । तर मल्ल भन्दा पनि लोकप्रिय नेता गौतम भएका स्थानीय बताउँछन् ।
हुनत प्रचण्डले युद्धकालीन राजनीतिक क्रान्तिको भूमिका रुपमा रुकुमपूर्वको ब्याख्या गरेर मतदाताहरुलाई आफूतिर तान्ने प्रयास गरिरहेकै छन् । तर यसलाई धेरैले पत्याउन सकेको अवस्था भने देखिँदैन । यो तथ्य नै प्रचण्ड परीक्षाको कारक बन्न पुगेको छ ।
किनभने कांग्रेसका उम्मेदवार कुसुमदेवी थापामगर र एमालेका लीलामणि गौतमले जिल्लाकै मान्छेलाई मत दिएमा मात्र जिल्लाको विकास हुने भन्दै प्रचण्डलाई राजनीतिक सुरक्षा खोज्न यहाँसम्म आइपुगेको भनेर नारा दिएका छन् । हुनत यहाँ कांग्रेस कमजोर नै देखिन्छ तर पनि कतिपय वडामा उसको परम्परागत मताधार कायम छ । यसबाहेक स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले पनि मत विभाजनको सम्भावना बढाएको छ ।












