काठमाडौं । जेनजी आन्दोलनपछि अरु नेताका तुलनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड मौन छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भन्दा त धेरै मौन् । जेनजी आन्दोलनपछि ओलीको काम आन्दोलनकारीको विरोध गर्ने नै भएको छ । उनी यसैमा व्यवस्त रही आएका छन् । नहुन् पनि किन ? उनको झण्डै दुई तिहाइको सरकार त्यही आन्दोलनले ढाल्यो । त्यतिमा मात्र सीमित नभएर ओली आफै हेलिकोप्टर चढेर भाग्नु पनि पर्यो ।
पछिल्लो समय ओली वर्तमान सरकार र रास्वपामाथि प्रायः दिनहुँजसो खनिएका देखिन्छन् । उनले यो सरकार विदेशीले बनाएको मात्र बताउँदैनन् कतिपय उम्मेदबार नै विदेशीको इसारामा चुनावमा लागेका समेत भन्न भ्याएका छन् । आफूलाई राष्ट्रवादी बताउने उनले विदेशीको इशारामा बालेन रविहरु चुनावमा उठेका समेत भनेका छन् ।
तर, यस विषयमा मौन रहेका प्रचण्ड पनि हिजो अकस्मात कड्किए । उनले पनि ओलीकै आसयमा त्यस्तै अभिव्यक्ति दिए । उनले घण्टी मात्र हल्लाएर केही हुनेवाला छैन भन्दै भण्टी लिएर हिँड्नेहरु विदेशीका दलाल भएको बताए । केही दिन आसन्न निर्वाचनको आफ्नो चुनावी क्षेत्र रुकुममा रहेका प्रचण्डले हिजो काठमाडौँ आएसँगै यस्तो अभिव्यक्ति दिए ।
उहाँले भन्नुभएको थियो-‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । र बाँकि रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’
एक समय उनले नै रवि र बालेनलाई गणतन्त्रका सुन्दर फूल सम्म भन्ने गरेका थिए । तर उनले अकस्मात हिजो विदेशीका दलाल भनेपछि उनको भनाई बडो रहस्यमय सुनिएको छ । ओलीले त यो कुरा विगतदेखि नै भन्दै आएकै हुन्, तर हिजो प्रचण्डले अकस्मात रास्वपाका नेतामाथि गरेको यो टिप्पणी अर्थपूर्ण रुपमा लिइएको छ ।
कतिपयले यसलाई सर्वाेच्च अदालतले भोलिदेखि संसदको पुनर्स्थापनाको मुद्धाको सुनुवाई सुरु गर्न लागेकाले अकस्मात प्रचण्डका मुखबाट आएको यो अभिव्यक्ति यसैसँग जोडेर पनि हेरेका छन् भने अरु केहीले यसलाई प्रचण्डले आगामी निर्वाचनमा गर्नसक्ने चुनावी गठबन्धनको पूर्वाभ्यासका रुपमा पनि लिएको बताएका छन् ।












