वीरगञ्ज । जिल्लास्थित श्रीसिया नदी दिनप्रदिदिन प्रदूषित हुँदै गएको छ । प्रदूषित हुनुमा सबैभन्दा बढी वीरगञ्ज महानगरपालिका नै प्रमुख दोषी देखिएको छ । अहिले महानगरपालिकाले महानगरबाट संकलित सम्पूर्ण फोहर श्रीसिया नदीको किनारमा फाल्दै आएको छ । लामो समयदेखि रामराजपुलदेखि मितेरीपुलसम्म श्रीसिया नदीको वरपर महानगरले दैनिकरूपमा फोहोर फाल्दै आएको छ । वीरगञ्ज मनपामा अन्दाजी दैनिक ७० मेट्रिक फोहर संकलित हुन्छ ।
ती फोहर अहिलेको समयमा वीरगञ्ज मनपा–१० अशोकवाटिका र ठाकुर राम क्याम्पसपछाडि श्रीसिया नदी किनारमा फाल्ने गरिन्छ । श्रीसिया नदी प्रदूषणमुक्त गर्नका लागि एक वर्षअघि गठित श्रीसिया नदी एवं प्रदूषणमुक्त अभियानले गोष्ठी, धर्ना, ज्ञापन र हस्ताक्षर अभियान चलाउनुका साथै एक वर्षअघि अदालतमा मुद्दा दायर पनि गरेको थियो । अभियानका संयोजक सुरेन्द्रप्रसाद कुर्मीले पर्सा जिल्ला अदालतमा वीरगञ्ज महानगरपालिकासमेत श्रीसिया नदीको पानी प्रदूषित गर्ने कार्यमा संलग्न १२ जनाविरुद्ध मुद्दा दायर गरेका थिए ।

अहिलेसम्म यो मुद्दाको टुंगो लागेको छैन । अदालतले जारी गरेको समन दुई जना उद्योगीले नबुझेका कारण मुद्दा अदालतमा विचाराधीन छ । अभियानले वीरगञ्ज महानगर, सुशील वनस्पति घ्यू उद्योग, स्ट्यान्डर्ड, मरियम, नेसनल, नेपाल र ग्लोबल छाला उद्योग, निम्बस प्रालि, अरनिका प्रोसेसिङ, अजित टेक्सटाइल्स, कन्साई नेरोलेकले श्रीसिया नदीको पानी प्रदूषित गरेको भनी मुद्दा दायर गरेको हो । यसैगरी, अभियानले वीरगञ्ज महानगरस्थित ४७ वटा उद्योगविरुद्ध निषेधाज्ञाको लागि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा मुद्दा दायर गरेको थियो ।
०७६ असोज ८ मा दायर भएको निषेधाज्ञाको सम्बन्धमा पनि ४७ वटा उद्योगमा अदालतले समन पठाउने कार्य गर्दै आएको छ । अहिले म्याद तामेल हुन नसकेकाले निषेधाज्ञामा पनि अदालतले सुनवाइ गर्न सकेको छैन । निषेधाज्ञा जारी किन नगर्ने भन्नेबारेमा अदालतले सबै उद्योगीलाई हाजिर हुन डाँकेको छ । अभियानका संयोजक कुर्मीले श्रीसिया नदी प्रदूषण सम्बन्धमा पर्सा जिल्ला अदालतमा दिएको मुद्दा सम्बन्धमा उद्योगहरूले श्रीसिया नदी आफुहरूले प्रदूषित नगरेको प्रतिउत्तर दिएको बताए । उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्टमार्पmत उद्योगको पानी उपचार गरी आफैले प्रयोग गरिरहेको प्रतिउत्तरमा जनाएको उनले बताए ।
तर, श्रीसिया नदी प्रदूषण सम्बन्धमा ०६७ सालमा गठित श्रीसिया नदी अनुगमन तथा प्रतिवेदन समितिका संयोजक रितेश त्रिपाठीले छाला उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरे पनि प्रयोगमा नल्याएको बताए । उनले ०६७ सालमा जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रजिअ नागेन्द्र झालाई प्रतिवेदन बुझाउँदै श्रीसिया नदी प्रदूषणमा ४६ वटा उद्योग प्रत्यक्ष रूपमा दोषी देखिएकोले कारबाही गर्न सिफारिस गरेको बताए । ४६ वटा उद्योगमा सबैभन्दा बढी छाला उद्योग, राइस मिल, सिमेन्ट उद्योग, टेक्सटाइल्स, औषधि, मैदा उद्योग तथा खाद्यान्नका विभिन्न सामग्री र फलाम उद्योगबाट श्रीसिया नदी प्रदूषित भइरहेको र ती उद्योगहरूलाई कारबाही गर्नुपर्ने सिफारिस गरिएको बताए ।
सो बेला बुझाएको प्रतिवेदन जिल्ला प्रशासन कार्यालय, पर्साले हालसम्म कार्यान्वयन नगरेको उनको भनाइ छ । तर सोही अवधिमा उद्योग मन्त्रालयमा प्रतिवेदनकै आधारमा गरिएको उजुरीपछि मन्त्रालयले १२ वटा उद्योगलाई पाँच लाख जरिवाना गरेको उनले बताए । जरिवाना भएका उद्योगहरूले रकम तिरे पनि हालसम्मको अवधिमा श्रीसिया नदी प्रदूषित नगर्ने उपायहरू अवलम्बन नगरेको त्रिपाठीले बताए । उनले छाला उद्योगहरूले वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरे पनि पानी उपचार नगरी श्रीसिया नदीमा प्रदूषित पानी बगाउने गरेको दाबी गरे । श्रीसिया नदीको प्रदूषणको कारण छिमेकी भारतका रक्सौलवासी पनि प्रताडित छन् ।
त्यहाँ पनि ‘सरिसवा नदी बचाओ’ अभियान चालिएको छ । अभियानका संयोजक डा। अनिल सिन्हाले पनि श्रीसिया नदीको पानी प्रदूषणमुक्त हुनुपर्छ भनेर विभिन्न चरणमा आन्दोलन गर्दै आएका छन् । अन्तर्राष्ट्रिय नियमले पनि श्रीसिया नदी प्रदूषणमुक्त अवस्थामा भारतमा बग्नुपर्नेमा जिम्मेवार निकायहरूबाट त्यसको सोधखोज नगरिएको र प्रदूषित नदीको कारण थुप्रै जना रोगी हुनुका साथै अकालमा मृत्यु भइरहेको भन्दै डा। सिन्हाले रक्सौलमा यसविरुद्ध अभियान नै चलाएका छन् ।
उनले पछिल्लो समयमा वीरगञ्ज महानगरपालिकाले शंराचार्यद्वार र मितेरीपुलमा महानगरको फोहर भण्डारण गरेको विषयमा पनि स्थानीय निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तैपनि श्रीसिया नदीको सन्दर्भमा वीरगञ्ज महानगरपालिका र सम्बन्धित निकाय मौन छन् ।प्रत्येक वर्ष छठको बेलामा मात्र श्रीसिया नदीको प्रदूषणविरुद्ध स्थानीय प्रशासनले उद्योगहरूलाई कडाइ गर्ने र सो अवधिमा मात्र उद्योगको प्रदूषित पानी श्रीसिया नदीमा बगाउने गरिँदैन ।
त्यस उप्रान्त प्रशासन मौन हुने र उद्योगीहरू लापरवाह हुने कार्यले निरन्तरता पाउँदै आएको कारण श्रीसिया नदी प्रदूषणमुक्त हुन सकेको छैन । मझौला सहर एकीकृत वातावरणीय सुधार योजनाअन्तर्गत वीरगञ्ज महानगरमा निर्मित ढलमध्ये शौचालयबाट बग्ने पानीको लागि छपकैयामा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरी पानीको उपचारपछि श्रीसिया नदीमा बगाउने गरिन्छ । सोबाहेक महानगरबाट बग्ने नालाको पानी भने सिधै श्रीसियामा बगाइन्छ । सौर्य दैनिकबाट












