२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चतिर सोझिँदै गरेको राजनीति



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटनका बारेमा छिटै निर्णयमा पुग्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले आज सो भनाई राखेका हुन् । उनले यो भनाई सामान्य रुमपा मात्र राखेका थिएनन्, उनको आजको अभिव्यक्तिमा आक्रोस पनि मिसिएको थियो र सर्वोच्च अदालतले यति ठूलो मुद्धामा कानमा तेल हालेर बसेको समेत बताएका थिए ।

उनले भनेका थिए— असंवैधानिक सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न मिल्दैन । उनले संसद् पुनस्र्थापनाको मुद्दाबारे चाँडो फैसला गर्नुपर्दछ । उनले भने, ‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनस्र्थापना गर्ने, हामीले पुनस्र्थापनाको माग गरिरहेका छौँ त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौँ हामी । अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौँ ।’

हुनत प्रतिनिधि सभा पुनर्स्थापना उनको नयाँ माग होइन, उनै एजेण्डा हो । उनले यसअघि पनि वर्तमान सरकार असंवैधानिक सरकार भएकाले यसले जननिर्वाचित संसद विघटन गर्ने कुनै अधिकार नराख्ने बताउँदै आएका पनि छन् ।

तर आज भने उनी निर्वाचनमा होमिइसकेपछि पहिलो पटक यस्तो प्रतिक्रिया दिएका छन् । जस्तो कि पहिला पहिला ओलीले एमाले चुनावमा नजाने अडान लिएर संसद पुनर्स्थापना नै एकमात्र विकल्प भएको भन्दै आएका थिए । तर समानुपातिकको सूची पनि बुझाए र यता प्रत्यक्षतर्फको निर्वाचनको मनोनयन पनि सुरु भयो, त्यसपछि भने ओली बोलेका थिएनन् ।

आजको ओलीको यो बोली यस्तो समयमा आएको छ कि हिजोमात्र पनि कांग्रेसका सांसदहरु संसद पुनर्स्थापनाको मागका बारेमा चाँडै निर्णय गर्न माग गर्दै सर्वोच्च अदालत जाने बताएका थिए । अघिल्लो दिन यो समाचारको निकै प्रचार भयो र हिजो सर्वोच्च जानेगरी तय पनि भयो । तर विघटित संसदमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेको नेतृत्वमा संसद जाने भनिएकोमा अकस्मात त्यो रोकिन पुग्यो ।

यो पनि बडो रहस्यमय भएर रह्यो कि सर्वोच्च जाने अभिव्यक्ति कसको दबाबमा र किन आयो अनि सर्वोच्च नजाने भन्ने दबाब पनि किन र कसरी आयो भन्ने बारेमा पनि बाहिर केही आएन । जाने र नजाने भन्ने विषयमा केकसरी निर्णय भयो र यसको मक्सद के थियो भन्ने पनि खुल्न सकेको छैन ।

तर पनि केही दिनयतादेखि संसद पुनर्स्थापनाको कुरा सामाजिक सञ्जालमा पनि निकै आइरहेको छ । एकातिर चुनावाको प्रचार जारी छ, देशैभरि उम्मेदबारहरु चुनाव प्रचारका लागि लागिरहेकै छन्, तर अर्कोतिर फेरि संसद पुनर्स्थापनाको पनि कुरा आइरहेको छ । विचार गर्नुपर्ने कुरा के हो भने यो प्रसंग र बहस बजार यसै चलेको भने छैन ।

आज ओलीले संवोधनका क्रममा अर्को प्रसंग पनि कोट्याएका छन् निर्वाचनको । उनले भनेका थिए— फागुन २१ मा चुनाव हुन्छ कि हुन्न भन्ने अझै टुंगो छैन । हिमालतिर हिउँ पर्ने मौसम हो त्यो । त्यहाँ भोट हाल्न जाने कि अब हिमाल चढ्न जाने रु

उनले भने, ‘हिमाली भेगमा मान्छे नै छैन । मान्छे नै नभएको ठाउँमा बाक्सा थापेर के हुन्छ रु ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ ? चुनावमा नाटक मात्रै हुन्छ । उच्च पहाडी र हिमाली भेगमा भोट हुनेवाला नै छैन ।’

आजै पहिला नकोट्याएको प्रसंग यता कांग्रेस सभापति गगन थापाले पनि कोट्याएका छन् । उनले खासमा भदौको जेनजी आन्दोलनको प्रसंगमा रास्वपा र बालेन साहलाई लक्ष्य गरेर देश जलाउनेलाई भोट नहाल्न भने । काठमाडौँ क्षेत्र नं ४ को चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भने— देश जलाउनेलाई होइन, देश चलाउनेलाई भोट दिनुपर्छ । नयाँ शक्ति भनिएका सबै ठिक र पुरानाजति सबै बेठिक भन्ने हुँदैन ।

आजै कांग्रेसका प्रवक्ता देवराज चालिसेले पनि देशलाई बर्बाद पार्न खोजिएको भन्दै नयाँ भनिएका शक्तिहरुबाट देश नचल्ने बताएका छन् । उनले देशलाई विभिन्न परीक्षणका नाममा खतम पार्न खोजिएको बताए ।

चुनाव र संसद पुनर्स्थापनाका विषयमा आइरहेका पछिल्ला अभिव्यक्तिहरुबाट के देशमा चुनाव हुन गइरहेकै हो त भन्ने चर्चा अहिले झन् बढ्दै छ । अहिलेको यो अवस्थाबाट देशलाई कसरी संवैधानिक र वैधानिक रुपमा निकास दिने भन्ने विषयमा अब निर्वाचन बाहेकको अर्को विकल्प भने देखिँदैन ।