१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनः सिरहा– १ मा पुराना दललाई नयाँको चुनौती



अ+ अ-

सिरहा। आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि सिरहा निर्वाचन क्षेत्र नं १ मा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ ।

बहुदलीय व्यवस्था पुनःस्थापनापछिका सातवटा निर्वाचनमध्ये चार पटक नेपाली कांग्रेस र दुई पटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जितेको यो क्षेत्रमा यसपटक विरासत जोगाउने पुरानै चुनौतीका बीच नयाँ शक्तिहरूको उदयले प्रतिस्पर्धालाई थप पेचिलो बनाएको छ ।

२०४८ सालदेखि २०७९ सम्मको चुनावी इतिहास हेर्दा यो क्षेत्रमा मुख्य शक्तिहरूले आलोपालोझैँ गरी मत आफ्नो पक्षमा पारेका थिए । कांग्रेसले २०४८, २०५१, २०७० (संविधानसभा) र २०७४ मा यहाँ जित हासिल गरेको थियो । एमालेले २०५६ र २०७९ मा बाजी मार्दा २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनाधिकार फोरमले जित निकालेको थियो ।

यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा रामसुन्दर चौधरीलाई मैदानमा उतारेको छ । आफ्ना प्रभावशाली नेताहरू पदमनारायण चौधरी र बौद्धिक व्यक्तित्व स्व प्रदीप गिरीको विरासत थाम्ने दबाब कांग्रेसलाई छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट निवर्तमान सांसद रामशङ्कर यादव दोहोरिएर चुनावी मैदानमा हुनुहुन्छ । २०७९ सालको निर्वाचनमा एमाले–जसपा गठबन्धनबाट २९ हजार ४६२ मत ल्याई विजयी हुनुभएका यादवका लागि आफ्नो सिट सुरक्षित राख्ने चुनौती छ ।

एमाले विभाजनपछि माधव नेपाल नेतृत्व हुँदै नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादव उम्मेदवार हुनुहुन्छ । २०५६ सालमा एमालेबाट निर्वाचित भइसक्नुभएका यादव यसपटक ‘जेनजी’ आन्दोलनले उठाएका मुद्दाहरू आफ्नो पार्टीले आत्मसात् गरेकाले जनताले आफूलाई रोज्ने दाबी गर्नुहुन्छ ।

त्यसैगरी जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सत्यनारायण यादव सङ्घीयता र आरक्षणका लागि भएको आन्दोलनको मूल्य चुकाउन आफू उम्मेदवार बनेको बताउनुहुन्छ । यस निर्वाचनमा सबैभन्दा धेरै चर्चाको केन्द्रमा चुनावी सरकारका युवा तथा खेलकुदमन्त्रीसमेत रहनुभएका बब्लु गुप्ता हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रत्याशी बन्नुभएका गुप्ता ‘जेनजी’ आन्दोलनको जगमा उभिएर सुशासन र भ्रष्टाचार अन्त्यको एजेन्डासहित चुनावी मैदानमा हुनुहुन्छ । उहाँका बुबा, कांग्रेसका पुराना नेता तथा पूर्वजिल्ला उपसभापति विष्णु गुप्ताको व्यक्तिगत प्रभाव र युवा पुस्ताको जोसका कारण यो क्षेत्रको चुनावी चर्चाको केन्द्रमा उहाँ पर्नुभएको हो ।

धनगढीमाई नगरपालिका १, २, लक्ष्मीपुरपतारी गाउँपालिका २ र ६, लहान नगरपालिका १ देखि २४, सखुवानन्कारकट्टी तथा भगवानपुर गाउँपालिकाको १ देखि ५ नं सम्म गरी कूल ४१ वडा रहेको सिरहा १ मा ५८ हजार ८५५ पुरुष र ५३ हजार ९४ महिला गरी एक लाख ११ हजार ९४९ मतदाता छन् ।  नयाँ र पुराना दलका गरी १४ दलीय र १८ स्वतन्त्र गरी ३२ जना उम्मेदवार रहेको यो क्षेत्रमा उज्यालो नेपाल पार्टीकी ताराकुमारी चौधरी र स्वतन्त्र उम्मेदवारको रुपमा लहान १ की सुलोचना कुश्मी गरी दुई महिला उम्मेदवार छन् ।

पछिल्लो निर्वाचनमा समानुपातिकतर्फ कांग्रेस १६ हजार ४८८, एमाले १३ हजार ३३७, जसपा नेपाल १० हजार ४८१, माओवादी केन्द्र एक हजार ७१३, एकीकृत समाजवादी सात हजार ८६० र जनमत पार्टीले आठ हजार १३८ मत पाएका थिए ।

विगतको यो मत परिणामले कुनै पनि दलको स्पष्ट पकड नरहेको देखाउँछ । पुरानो राजनीतिक विरासत र नयाँ पुस्ताको ‘परिवर्तन’ को चाहनाबीच आगामी २१ फागुनको निर्वाचनमा सिरहा १ का जनताले कसलाई आफ्नो प्रतिनिधि छान्छन् भन्ने विषय रोचक बनेको छ । रासस