काठमाडौँ: लाग्छ, हिजोआजका प्रचार प्रचार एवं सामाजिक सञ्जालको अवस्था हेर्दा मतदान सामाजिक सञ्जालमै हुँदैछ । मतदान ब्यालट बक्समा भन्दा पनि मिडियामा हुन लागेको भान हिजोआजका प्रचारका शैली, विधि र प्रविधिहरुले बताइरहेका छन् ।
अहिले युट्युब, कन्टेन्ट क्रिएटर एवं सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरुले हाकाहाकी निर्वाचनको गोपनीयताको हनन् गरिरहेको अवस्था छ । उनहीहरुले मानिसहरुलाई भोट कसलाई दिनुहुन्छ भनेर सोधिरहेका छन् । कतिपय मानिसले त भनिरहेका छन् आफूले कसलाई मत दिँदैछु भनेर तर कति हिच्किचाइरहेका छन् । तर पनि मिडियाकर्मीहरुले भने कसलाई भोट दिनुहँछ भनेर सोधेको प्रश्नको जावाफ खोजेका अथवा चाहिरहेकै हुन्छन् ।
यस्तो अवस्था यतिखेर झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ मा बढी देखापरिरहेको छ । सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र उता रास्वपाका नेता बालेन्द्र साह प्रतिस्पर्धा गरिरहेका छन् । त्यस क्षेत्रमा लाग्छ कि देशैभरका मिडिया जम्मा भएका छन् । र उनीहरुले मानिसहरुमा खुलम्खुला मत सर्वेक्षण गरिरहेका छन् ।
मतदान मानिसको गोपनीय अधिकार हो । उसले मतदान अघि र पछि पनि आफूले कसलाई मत दिँदैछु भन्ने कुरा सार्वजनिक रुपमै अभिव्यक्त गर्न बाध्य छैन । तर पनि मिडियाले सोधेकै छन् र भन्दिन भन्दा पनि मानिसहरु आफ्नो मताधिकारको खुलासा गर्न बाध्य छन् ।
अहिले सामाजिक सञ्जाल निर्वाचन आयोग मात्र नभएर उम्मेदबारहरुका लागि पनि ठूलो टाउको दुखाई बन्न पुगेको छ । हुनत निर्वाचन आयोगले आचारसंहिता निर्माण गरेको छ र त्यसको कार्यान्वयनका लागि अनुगमन पनि गरि नै रहेको छ । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कारबाही पनि गरिरहेकै छ ।
यसअघिका निर्वाचनहरुमा मिडियाका अरु नै माध्यमहरु टाउको दुखाई थियो या बन्यो होला निर्वाचन आयोगलाई । तर अहिलेको प्रमुख चुनौती भने सामाजिक सञ्जाल बनेका छन् । मानिसहरुले एआईका माध्यमबाट फेक न्युज तथा भिडियो बनाएर निर्धक्कसँग सामाजिक सञ्जालका माध्यमबाट सेयर गर्ने गरेका छन् ।
केही दिन यतादेखि चुनावी गठबन्धनका लागि नेकपा एमालेका अध्यक्ष ओलीले नेपाली कम्युनष्टि पार्टीका अध्यक्ष प्रचण्डसँग प्रस्ताव राखेका तर पनि प्रचण्डले नमानेका समाचारहरु प्रचारमा ल्याइएको छ । त्यस्तै उता कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष ओलीबीच पनि यस्तै गठबन्धनका लागि कुरा भइरहेको भनेर प्रचार गरिएकै छ । तर यी दुवै प्रचार निराधार रहेका ती नेताहरु बताइरहेका छन् । यता भिडियो र समाचारका माध्यमबाट प्रचार गरिएकै छ ।
आजको अवस्था हेर्दा लाग्छ मानिसहरु मतदानका लागि ब्यालट बक्स राख्ने दिन फागुन २१ गते सम्म कुर्नेवाला छैनन् । उनीहरुले मानिसलाई अहिले नै जिताउन या हराउन हतारो गरिरहेका छन् । त्यसैले अहिलेको निर्वाचन सामाजिक सञ्जालले लडिरहेका छन् भन्दा फरक पर्दैन ।
मिथ्या सूचनाको प्रचारको माध्यम बनिरहेका सामाजिक सञ्जालहरुमा निर्माण भएका यस्ता भिडियो एवं अन्य सामग्रीहरु मुख्यत राजनीतिक दलहरुले नै बनाएका छन् । नयाँ त भए नै यसपटक पुरानै दलहरुले पनि एकले अर्कामाथि विरोध र दुष्प्रचार गरिरहेका सामाग्री उत्पादन र वितरण गरिरहेको जस्तो देखिएको छ । यसरी हेर्दा यो प्रतिस्पर्धा नै चलेको जस्तो देखिन्छ ।
अघिल्ला चुनावहरुमा खासमा केही बर्षयतादेखि अनलाइन मिडियाहरुलाई चुनौतीका रुपमा देखिएका थिए भने अहिले सामाजिक सञ्जाल र अझ पछिल्लो समय त एआई नै मुख्य चुनौती देखिन्छ । यो अवस्थालाई मिहीन ढंगबाट विश्लेषण गर्ने हो भने आगामी फागुन २१ को मतदान पनि ब्यालट बक्समा होइन कि सामाजिक सञ्जालमै हुन गइरहेको जस्तो देखिएको छ ।












