काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले संसदीय समितिहरुले दिएको निर्देशन आफूले हुबहु पालना गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले समितिले दिएको निर्देशन पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको र यसलाई फिर्ता गराउने सम्बन्धमा समितिले पनि निर्देशन दिएको उल्लेख गर्दै सो जग्गा फिर्ता ल्याउने प्रतिवद्धता पनि गर्नुभयो । उहाँले भन्नुभयो – ‘तपाईहरुले दिएका निर्देशन विगतमा के हो मलाई थाहा छैन, म हुबहु लागु हुनेगरी काम गर्नेछु । तपाईहरुको निर्देशन पालना गर्नेछु भन्ने म प्रतिवद्धता जायर गर्न चाहान्छु ।
तारागाउँ विकास समितिको कुरा एकदमै गम्भिर छ । १४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ । जबकी त्यो राख्नै पाइदैनँ । यहाँहरुले पठाउनुभएको निर्देशन समेत हेर्दाखेरी त्यो नेपाल सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनी अथवा तारागाउँ रेजेन्सीमा त्यो राख्न मिल्दैन ।
तपाईहरुले जुन मलाई निर्देशन दिनुभएको छ, हामी यसलाई हुबहु अगाडी बढाउने र नेपाल सरकारको जग्गा फिर्ता ल्याउने कुरामा तपाईहरु माननीयज्यूहरुको पनि सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु । तपाईहरुले दिएको निर्देशन कार्यान्वयन गर्नेतिर म जानेछु भन्ने प्रतिवद्धता जनाउन चाहान्छु ।’
मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट अभाव भएको बताउनुभयो । विमानस्थल निर्माणका लागि ८ हजार ५० हेक्टर जमिन विमानस्थलको नाममा आइसकेको भएपनि बजेट अभावका कारण काम सम्पन्न हुने नसकेको उहाँले जानकारी दिनुभयो । त्यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्बन्धमा रिठ्ठे डाँडाँको कटान प्रक्रिया पनि छिट्टै अगाडी बढाइने उहाँले बताउनुभयो ।












