ललितपुर । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शुक्रबार राति कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार दुर्घटनामा चालक गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनापछि स्थानीय बासिन्दा र प्रहरीले उद्धार कार्य गरेका थिए।
ट्रकमा सवार करिब ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषलाई गम्भीर अवस्थामा उपचारका लागि पाटन अस्पताल लगिएको थियो। उपचारका क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतक दुवै जनाको सनाखत हुन बाँकी रहेको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ।












