काठमाडौं । अर्घाखाँची सिमेन्ट कम्पनीले बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्ने तयारी शुरु गरेको छ । कम्पनीले आगामी माघ ५ गते वार्षिक साधारण सभा बोलाएर यस बारेमा निर्णय गर्न लागेको हो ।
आइपीओ निष्काशनका लागि अधिकृत पुँजी, जारी तथा चुक्ता पुँजी परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न लागेको कम्पनीले जनाएको छ । साधारण सभामा आर्थिक वर्ष २ं०७७–७८ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २ं०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि राखिएको छ ।
अर्घाखाँची सिमेन्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले ४३ ग्रेड सिमेन्टको इजाजत प्रदान गरेको छ ।
विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएचएस–५७२ को अवधारणासहित ग्रेडिङ प्रणालीलाई अघि सारेको छ । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो ।
हाल नेपाली बजारमा निजी क्षेत्रबाट होङ्सी, शिभम, बृज, अर्घाखाँची, अम्बे जस्ता विभिन्न कम्पनीले सिमेन्ट उत्पादन गरिरहेका छन् । शिभम सिमेन्टले भने यसअघि नै प्रिमियर दरमा आइपिओ निष्काशन गरी स्टक एक्सचेन्जमा आबद्ध भएको छ ।












