झारखण्ड: भारतको झारखण्डको चतरा जिल्लामा सोमबार साँझ एयर एम्बुलेन्स विमान दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित सातै जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख सुमित कुमार अग्रवालले दुर्घटनाबारे जानकारी दिँदै राति करिब १० बजेतिर घटनाको सूचना प्राप्त भएको बताएका छन्। दुर्गम भू–भागका कारण घटनास्थलमा पुग्न कठिनाइ भएको उनले उल्लेख गरे। उनले दिल्लीबाट प्राविधिक टोली आएर ‘ब्ल्याक बक्स’ बरामद गरी अनुसन्धान गर्ने जानकारी पनि दिए।
प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण दुर्घटना भएको देखिएको छ। चट्याङसहितको आँधीका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ। चिकित्सकको टोलीले सबैलाई मृत घोषणा गरेको छ। विमानमा दुई जना चालक दलका सदस्य र एक बिरामीसहित उनका परिवारका सदस्य थिए ।
रेडबर्ड एयरवेजको बीचक्राफ्ट सी९० एयर एम्बुलेन्स विमान राँचीबाट दिल्लीका लागि उडेको थियो। विमान साँझ ७:११ बजे (भारतीय समय) राँचीबाट उडान भरेको थियो। मौसमका कारण मार्ग परिवर्तनको अनुमति मागेपछि साँझ ७:३४ बजे कोलकातासँग सम्पर्क र रडार सिग्नल टुटेको बताइएको छ। विमानको अन्तिम स्थान वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्वमा रहेको जनाइएको छ।
भारतीय नागरिक उड्डयन संस्थाले दुर्घटनाको छानबिन सुरु गरेको छ भने जिल्ला प्रशासनको खोज तथा उद्धार टोली पनि घटनास्थलमा खटिएको छ। एएनआई












