२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘टुँडिखेलको फाँटमा टापको गर्जन’ (फोटो फिचर)



अ+ अ-

काठमाडौँ। ऐतिहासिक टुँडिखेल आज एउटा विशाल रङ्गमञ्चमा परिणत भयो । काठमाडौंको आकाशमा वसन्तको सुवास फैलिरहँदा र नयाँ सिर्जनाका पालुवाहरू पलाउँदै गर्दा, नेपाली सेना र सर्वसाधारणले वर्षौँदेखि जोगाएर राखेको ‘घोडेजात्रा’ को गौरवमय परम्परा आज फेरि एकपटक जीवन्त भयो ।

नेपाली संस्कृतिमा घोडेजात्राको आफ्नै विशिष्ट गरिमा छ । किंवदन्तीअनुसार प्राचीन कालमा काठमाडौंको टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने गथ्र्यो । सोही राक्षसलाई मारिसकेपछि उसको आत्मा फेरि नब्युँतियोस् र उसलाई घोडाका टापहरूले कुल्चिएर राखियोस् भन्ने विश्वासका साथ घोडा कुदाउने परम्परा शुरु भएको मानिन्छ ।

आजको यो जात्रा केवल एउटा प्रदर्शनी मात्र नभई, नकारात्मक शक्तिमाथि सकारात्मकताको विजय र काठमाडौं उपत्यकाको सुरक्षाको प्रतीक पनि हो ।

धराहराको विशाल उपस्थितिमा साक्षी राख्दै, जब नेपाली सेनाका घोडचढीहरूले मैदानमा प्रवेश गरे, तब दर्शकहरूको उत्साहको सीमा रहेन । रातो र सेतो रङ्गका आकर्षक सैनिक पोशाकमा सजिएका जवानहरू र तिनका हृष्टपुष्ट घोडाहरूको लयवद्ध दौड देख्दा लाग्थ्यो ।

टुँडिखेलको माटोले नै संगीतको नयाँ धून अलापिरहेको छ । एकातिर सैनिक जवानहरूले घोडचढी कला, ‘हाइ जम्प’ र ‘सिक्स बार’ मार्फत आफ्नो सौर्य प्रदर्शन गरिरहेका थिए भने अर्कोतिर आगोको गोलाबाट घोडा र कुकुरहरूलाई हाम फाल्न लगाएर अदम्य शाहसको परिचय दिइरहेका थिए ।

विशेष गरी, आगोको ज्वाला बीचबाट निडर भई निस्किएका ती बेजुबान प्राणीहरूको शाहस र तिनीहरूका प्रशिक्षकको कलाले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । घोडेजात्रामा केवल युद्धकला मात्र होइन, नेपाली जनजीवनको अभिन्न अङ्ग ‘कृषि’ लाई पनि कलात्मक रूपमा प्रश्तुत गरियो ।

एउटा तस्बिरमा देखिएझैँ, घोडाले हलो तानिरहेको दृश्यले हाम्रो परम्परागत कृषि संस्कृति र आधुनिकताको सुन्दर संयोजन झल्काउँथ्यो । यसले घोडा केवल युद्ध वा सवारीको साधन मात्र नभई नेपाली जीवनशैलीको सारथि पनि हो भन्ने सन्देश दिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको गरिमामय उपस्थितिले जात्राको ओज अझ बढाएको थियो ।

कालो रङ्गको विलासी गाडीबाट उत्रिएर सलामी ग्रहण गर्दाको क्षण होस् वा बग्गीमा सजिएका घोडाहरूको ताँती, हरेक दृश्यले राजकीय वैभव र मर्यादाको झल्को दिन्थ्यो । आकाशमा फर्फराइरहेका नेपालका चन्द्र–सूर्य अङ्कित झण्डाहरूले राष्ट्रियताको भावनालाई थप प्रगाढ बनाएका थिए ।

धुलोको बादल उडाउँदै दगुर्ने घोडाहरूको पदचाप, पोलो खेल्दै गरेका खेलाडीहरूको फुर्ति, र दर्शकदीर्घाबाट आएको निरन्तरको गडगडाहट ताली—यी सबैले आज टुँडिखेललाई एउटा उत्सवमय संसारमा बदलेका थिए ।

चम्किला रङ्गका झण्डाहरू, घोडाहरूको घाँटीमा बाँधिएका राता फुर्काहरू र जवानहरूको अनुहारमा झल्किएको आत्मविश्वासले ‘घोडेजात्रा’ केवल एउटा सरकारी औपचारिकता मात्र नभएर हाम्रो जीवन्त सम्पदा हो भन्ने पुष्टि गर्दछ । टुँडिखेलको यो माटोले आज फेरि एकपटक इतिहास दोहो¥याएको छ ।

घोडाहरूको त्यो बेजोड दौडले हामीलाई सन्देश दिएको छ कि समयको गतिसँगै अघि बढ्नुपर्छ तर आफ्ना सांस्कृतिक जगहरूलाई कदापि बिर्सनु हुँदैन ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल