१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा यातनापीडितको संरक्षण र न्यायका निम्ति राष्ट्रसङ्घको जोड सुनचाँदीको मूल्य अस्थिर रास्वपाको सहमहामन्त्रीमा ११ जनाको उम्मेदवारी अर्घाखाँचीमा ६० हजार टिमुरका बिरुवा रोपिँदै प्रचण्ड, माधव नेपाल र शेखर कोइरालाबीच विराटनगरमा भेटवार्ता महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उद्यम केन्द्रको पहिचान बनाउँदैछ मकवानपुर



अ+ अ-

हेटौँडा । केन्द्र सरकारको कृषि नीति, प्रदेश सरकारको किसान लक्षित कार्यक्रम र स्थानीय तहको प्रभावकारी व्यवस्थापनले कृषि पेशामा युवाहरुको समेत आकर्षण बढ्दो छ । प्रदेश नं ३ को राजधानीसमेत रहेको मकवानपुरमा हेटौँडा उपमहानगरपालिका अर्को एक नगरपालिका र आठ गाउँपालिकासहित १० स्थानीय तहहरु छन् । जिल्लाका हेटौँडाबाहेक सबै पालिकाको आम्दानीको मुख्य स्रोत कृषि तथा पशुपालन नै हो ।

जिल्लामा आलु र काउलीका लागि थाहा नगरपालिकाको पालुङ र मनहरिको हाँडीखोला, खुर्सानी, मुला, साग आदिका लागि चित्लाङ, माछाका लागि मनहरि, इन्द्रसरोवर, हेटौँडा, गेडागुडीका लागि सामरी, सुपिङ, कैलाश, कोदो, भटमासका लागि पदमपोखरी, धान, गहुँलगायत अन्नपातका लागि हेटौँडाको हटिया, हर्नामाडी, गुरौविर्ता, मनहरि, बकैया तथा बागमती गाउँपालिका, महका लागि राक्सिराङ, मनहरि र हेटौँडा प्रसिद्ध छन् ।

एशियामै नेपालमा मात्र पालिएको अनौठो जीव उँटे भेडा (अल्पका) मकवानपुरमै पालिएको छ भने विभिन्न खालका ट्राउट माछाहरु, बट्टाइ, लौकाट, टर्की, हाँस, कडकनाथ आदि विभिन्न प्रकारका चराचुरुङ्गी र कुखुरा मकवानपुरमा व्यावसायिकरूपमा पालिएका छन् । तिलफल (ड्रागन फ्रुट), घ्यूफल (एभोकाडो), किवी आदि आधुनिक कृषिमा चर्चित फलफूल पनि यहाँ व्यावसायिकरूपमै गर्न थालिएको छ ।

मकवानपुरगढी गाउँपालिकाका किसान भने उन्नत जातको गाई, बाख्रालगायत पशुपालनतर्फ आकर्षित हुन थालेका छन् । गाउँपालिकामा हाल साना–ठूला गरी ७० भन्दा बढी पशुपालन केन्द्र सञ्चालनमा रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा विगतदेखि नै सञ्चालनमा रहेका २० र नयाँ १० ठूला कृषिफार्म दर्ता भएका छन् ।

त्यस्तै ४२ कृषिफार्म दर्ता प्रक्रियामा रहेको गाउँपालिकाका पशुपक्षी तथा मत्स्य विकास शाखाका प्रमुख सत्यनारायण साहले जानकारी दिनुभयो । दर्ता प्रक्रियामा सहभागी नभएका र ठूला तथा साना परिमाणमा पशुपालन गर्ने किसानको सङ्ख्या हजारौँ रहेको उहाँको भनाइ छ । एक सय ४९ वर्ग किलोमिटर। क्षेत्रफलमा फैलिएको मकवानपुरगढी गाउँपालिकामा सहकारीले मात्रै दैनिक १० हजार लिटर दूध सङ्कलन गर्ने गरेको तथ्याङ्क छ ।

प्रदेश नं ३ को राजधानी हेटौँडासँग सिमाना जोडिएको कारण र कान्ति राजपथ तथा सदरमुकामसँग जोडिएका पक्की सडकका कारण कृषि उत्पादनको निर्यात र आवश्यक सामग्री आयातमा सहज भएकाले पनि यहाँको कृषि उद्यम फस्टाएको स्थानीयवासी बताउँछन् । मकवानपुरगढी गाउँपालिकाबाट मासिक रु तीन करोड मूल्य बराबरकोे काँचो दुध निर्यात हुने गाउँपालिकाले जनाएको छ । सहकारीमार्फत मात्रै दैनिक १० हजार लिटर दूध निर्यात हुने र निजी सङ्कलकमार्फत पनि सोही परिमाणको दूध बाहिरिने जनाइएको छ ।

सहकारी तथा निजी सङ्कलकमार्फत निर्यात हुने दूधबाट गाउँपालिकामा दैनिक रु १० लाख भित्रिने गरेको जनाइएको छ । दूधबाहेक गाउँपालिकाबाट केरा, मकै, कोदो, अदुवालगायत कृषि उपज बाहिरिने कृषकहरु बताउँछन् । गाउँपालिका व्यावसायिक र आधुनिक कृषितर्फ उन्मुख हुँदै गर्दा उत्पादनमा समेत वृद्धि हुँदै गएको हो ।

आधुनिक खेती प्रणालीमार्फत मकवानपुरगढीमा दैनिक लाखौँको तरकारी, केराजस्ता उत्पादन बाहिरिने स्थानीय अगुवा किसान बताउँछन् । राज्मा, बोडी, मास, सिमी, भटमासजस्ता मौसमी गेडागुडी तथा विभिन्न प्रकारका मौसमी एवं बेमौसमी तरकारी यहाँ प्रशस्त उत्पादन हुने स्थानीय कृषक टीका दाहाल बताउनुहुन्छ ।

अकबरे खुसार्नी, स्थानीय जातको गोलभेँडा आदिको उत्पादन गढीमा राम्रो हुने उहाँको भनाइ छ । टर्की तथा कुखुरापालन गरिरहनुभएका दाहालले लाखौँको लगानीमा टनेल बनाएर प्राङ्गारिक तरकारी खेती गरिरहनुभएको छ । गढी गाउँपालिका–६ को वडाध्यक्षसमेत रहनुभएका कृषि उद्यमी दाहाल टर्की पालन व्यवसायले किसानलाई फाइदा पु¥याउन सक्ने बताउनुहुन्छ ।

मकवानपुरगढी गाउँपालिकामा बोयर जातको बाख्रापालन गरेर राम्रो आम्दानी गरिरहनुभएका किसान शालिकराम सापकोटा सरकारले प्रस्तुत गरेको योजना सही तरिकाले कार्यान्वयन भए किसानले लाभ लिनसक्ने बताउनुहुन्छ । सरकारले ल्याएको कृषि नीति, ऋण आदि प्रचार गरिएजस्तो सरल र सहज नभएको उहाँको गुनासो छ । “सरकारले न्यून ब्याजदरमा ऋण लिएर उद्यम गर बैंक जाउ भन्छ, बैंकले झुलाउँछ”, उहाँले भन्नुभयो ।

कृषि उद्यमका लागि दुई प्रतिशतसम्मको न्यूनतम ब्याजदरमा ऋण पाइन्छ भनिए पनि कुनै पनि बैंकले ऋण नदिएको उहाँ बताउनुहुन्छ । उहाँले हाल एक निजी बैंकमार्फत सात प्रतिशत ब्याज बुझाउने गरी करीब रु १८ लाख ऋण स्वीकृत गरेको र त्यो लिएर व्यवसायलाई वृद्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।

गाउँपालिकाले कृषिलाई प्रवद्र्धन गर्न कुनै पनि कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष विदुर हुमागाईँ बताउनुहुन्छ । कृषि उत्पादन वृद्धि गर्न स्थानीय सरकारले माटो परीक्षण केन्द्रको सञ्चालन गरिसकेको, सिँचाइ, मल बीउ आदिको व्यवस्था गर्ने तथा पशुपालनलाई प्रवद्र्धन गर्न गोबर परीक्षण केन्द्र तथा दाना उद्योग सञ्चालन गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका कृषिमार्फत मात्रै समृद्ध हुने ठानेर पालिकाले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको अध्यक्ष हुमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाले प्रदेश सरकारको सहयोगमा माटो तथा गोबर परीक्षण केन्द्रसमेत सञ्चालन गरिसकेको छ भने पशु आहाराका लागि दाना उद्योग सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।