काठमाडौं । राप्रपाको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सो पद बाट राजिनामा दिनुभएको छ ।
आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेख्दै उहाँले पार्टी जिम्मेवारी त्याग्नु भएको हो । लोहनीले निर्वाचन परिणामले आफू स्तब्ध भएको कुरा पत्रमा उल्लेख गर्नुभएको छ । लोहनीले पार्टीको सिङ्गो पदाधिकारी टिमलाई पनि तत्काल मार्ग प्रशस्त गरी तदर्थ समिति गठन गर्दै महाधिवेशनको प्रक्रियामा जान अपिल समेत गर्नुभएको छ ।
पत्रमा लेखिएकाे छ- ‘हालै सम्पन्न भएको आम चुनावमा राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक तथा अन्य विविध कारणले प्राप्त निराशाजनक परिणामले मलाई स्तब्ध बनाएको छ । यस अवस्थामा पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूको तत्काल मार्ग प्रशस्त गरी जनभावनाअनुरूप तदर्थ समितिमार्फत महाधिवेशन गरी सो उप्रान्त जिम्मेवारी प्राप्त भएमा मात्र पदमा रहने गरी जिम्मेवारीबाट अलग हुने, समयको मागलाई अनुसरण गर्दै पार्टीको निर्देशन समितिको अध्यक्षबाट राजीनामा दिएको छु ।’
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले देशभर प्रत्यक्षतर्फ जम्मा एक क्षेत्र ९जुम्ला–१० जितेको छ भने समानुपातिकमा जम्मा ३ लाख ३० हजार मत पाएको छ ।













