काठमाडाैँ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ बरगदा मा शनिबार हिन्दु–मुस्लिम समुदायबिच उत्पन्न विवादका क्रममा काली मन्दिरमा तोडफोड भएको घटनाप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले दुःख र चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सदियौँदेखि कायम रहेको हिन्दु–मुस्लिम समुदायबीचको सामाजिक सद्भाव र एकतालाई कुनै पनि हालतमा खल्बलिन नदिन सबै पक्षलाई आग्रह गरेका छन्।
उनले यस्ता घटनाले नेपालमा अशान्ति, द्वन्द्व र अराजकता चाहने तत्वहरूलाई बल पुग्ने भन्दै सतर्क रहनुपर्ने उल्लेख गरेका छन्। साथै, पछिल्लो समय विभिन्न बहानामा हिन्दु धर्म र हिन्दुत्वमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको भन्दै त्यसप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।
श्रेष्ठले सम्पूर्ण नागरिकलाई सजग र सचेत रहन आह्वान गर्दै सामाजिक सद्भाव कायम राख्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।












