२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वी तनावको असरःपोखरामा पर्यटक आगमन घट्दै, बुकिङ रद्द हुने क्रम तीव्र



अ+ अ-

काठमाडाैँ । मध्यपूर्वमा बढ्दो सैन्य तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटक आगमन घट्न थालेको छ। विशेषगरी अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा नेपालका लागि महत्वपूर्ण मानिने दोस्रो पर्यटकीय सिजनमै यसको प्रत्यक्ष असर देखिएको सरोकारवालाहरूले बताएका छन्।

युरोप र अमेरिकाबाट नेपाल आउने अधिकांश पर्यटकले दुबई, कतार र साउदी अरेबिया जस्ता मध्यपूर्वी मुलुकलाई ट्रान्जिट बनाउने भएकाले ती क्षेत्रमै असुरक्षा बढ्दा पर्यटकको आवागमन प्रभावित भएको व्यवसायीहरूको भनाइ छ। यसका कारण पोखरा आउने पर्यटकहरूले होटल, ट्राभल तथा ट्रेकिङसम्बन्धी अग्रिम बुकिङ धमाधम रद्द गर्न थालेका छन्।

पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईका अनुसार मध्यपूर्वमा जारी तनावले युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको छ। उनका अनुसार युद्ध लम्बिँदै जाँदा पर्यटन व्यवसायीहरू समेत समस्यामा पर्दै गएका छन्। “नेपाल आउने धेरै पर्यटकले कतार, दुबई जस्ता ट्रान्जिट प्रयोग गर्ने भएकाले अहिले उनीहरू आउन नसक्ने अवस्था बनेको छ,” उनले भने, “मध्यपूर्वको द्वन्द्वका कारण धेरै पर्यटक बीच बाटोमै डाइभर्ट हुनुपर्ने अवस्था छ।”

होटल एशोसिएशन पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो मुख्य सिजन (मार्च–मे) मा समेत अपेक्षाकृत पर्यटक नआएको बताए। उनले अमेरिकाले आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक यात्रा नगर्न जारी गरेको एड्भाइजरीका कारण पनि अमेरिकी पर्यटकको आगमन न्यून भएको जानकारी दिए। उनका अनुसार युरोपियन पर्यटकको संख्या पनि अपेक्षाभन्दा कम छ, यद्यपि भारतीय र आन्तरिक पर्यटकको उपस्थिति भने सन्तोषजनक रहेको छ।

पर्यटन व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा हुने ट्रेकिङ तथा अन्य पर्यटकीय गतिविधिका अग्रिम बुकिङहरू रद्द हुने क्रम बढेको बताए। “यो समय पर्यटकको चाप हुने बेला हो, तर अहिले अपेक्षाअनुसार पर्यटक आएका छैनन्,” उनले भने।

कोभिड–१९ महामारीपछि बिस्तारै लयमा फर्किँदै गएको नेपालको पर्यटन क्षेत्र पुनः अन्तरराष्ट्रिय द्वन्द्वको असरमा परेको देखिएको छ। पर्यटन व्यवसायीहरूले यस्तो अवस्थालाई दीर्घकालीन रूपमा समाधान गर्न नेपाललाई धार्मिक तथा वैकल्पिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न राज्यले स्पष्ट रणनीति ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन्।