काठमाडाैँ ।नेपाली काँग्रेस को केन्द्रीय कार्यसमिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। केहीबेरअघि सुरु भएको बैठकमा मुख्यतः हालै सम्पन्न निर्वाचनको समीक्षा तथा आगामी १५औँ महाधिवेशनको तयारीबारे छलफल केन्द्रित हुने जनाइएको छ।
बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय सदस्य प्रतिमा गौतम ले पार्टी अब १५औँ महाधिवेशनतर्फ केन्द्रित हुने बताउनुभयो। उहाँका अनुसार आजको बैठकले महाधिवेशनको प्रारम्भिक कार्यतालिका प्रस्ताव गर्नेछ भने आगामी भदौसम्म महाधिवेशन सम्पन्न गर्ने गरी छलफल अघि बढाइनेछ।
गौतमले पार्टीभित्र देखिएका आन्तरिक विवादलाई साम्य पार्दै संगठनलाई एकढिक्का बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो। केही नेताहरूले सभापतिकै हस्ताक्षरमा निर्वाचन लडेर आएपछि अहिले नेतृत्वप्रति असहमति जनाउनु नैतिकतासँग मेल नखाने उनको भनाइ छ।
उहाँले आगामी महाधिवेशनलाई “एकताको अधिवेशन” का रूपमा सम्पन्न गर्ने र सबै पक्षलाई समेटेर पार्टीलाई अघि बढाउने दाबी गरे।
यसैबीच प्रतिनिधि सभा निर्वाचनपछि सभापति गगनकुमार थापा पहिलो पटक पार्टी बैठकमा सहभागी भएका छन् । यसअघि दिएको राजीनामा पार्टीले अस्वीकृत गरिसकेको छ।