२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमाल आरोही र पदयात्रीको स्वास्थ्य जाँचका लागि उच्च हिमाली क्षेत्रमा चिकित्सक टोली परिचालन



अ+ अ-

काठमाडौँ । वसन्त ऋतुमा हिमाल आरोहण तथा पदयात्राका लागि आएका स्वदेशी तथा विदेशी पर्यटकको स्वास्थ्य परीक्षण र उपचारका लागि चिकित्सकको विशेष टोली उच्च हिमाली क्षेत्रमा खटिएको छ ।

हिमालयन उद्धार सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, फेरिचे र मनाङ जिल्लामा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्दै ११ जनाको चिकित्सक टोली परिचालन गरेको हो । वसन्त र शरद् ऋतुमा हिमाल आरोहणमा जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०३० मा स्थापना भएको उक्त सङ्घले यस वर्ष पनि विदेशी र नेपाली चिकित्सकसहितको टोली हिमाली क्षेत्रमा पठाएको जनाएको छ ।

सङ्घका अध्यक्ष डम्बर पराजुलीका अनुसार सगरमाथा आधार शिविर, फेरिचे र मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको छ । उनले हिमाल आरोहणमा जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी विशेषज्ञ सेवा उपलब्ध गराउन स्वयंसेवी चिकित्सक परिचालन गरिएको जानकारी दिए ।

सगरमाथा आधार शिविरमा अष्ट्रेलियाली चिकित्सक सामन्था एलिसन विल्स, नेपाली चिकित्सक पिन्स सिंह र सहयोगी लाक्पा नोर्बु शेर्पा खटिएका छन्। त्यस्तै फेरिचे स्वास्थ्यचौकीमा अष्ट्रेलियाली चिकित्सक रेबेका एलेन कारपेन्टर, अमेरिकाका डा. केटलिन ब्रुक हार्पर, नेपाली चिकित्सक आकृति सिंह तथा सहयोगी आङ दावा शेर्पा र थानेश्वर भण्डारी कार्यरत रहेका छन् ।

मनाङ स्वास्थ्यचौकीमा भने अमेरिकाका डा. जोसेफ पिटर महोनी, अष्ट्रेलियाली डा. केन जे कोह र सहयोगी प्रकाश खत्री खटिनुभएको सङ्घले जनाएको छ ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले कार्यक्षेत्रमा खटिएका स्वयंसेवी चिकित्सकलाई लेक लाग्ने समस्या तथा अन्य हिमाली स्वास्थ्य जोखिमबारे विशेष तालिम दिएर परिचालन गरिएको बताए । उनका अनुसार नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति प्राप्त चिकित्सकलाई मात्र कार्यक्षेत्रमा पठाइने गरिएको छ ।

टोलीले स्वदेशी पदयात्रीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, प्रत्येक वर्ष हजारौँ आरोही तथा पदयात्रीलाई सेवा दिँदै आएको सङ्घले जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा समेत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष नीलहरि बास्तोलाले उच्च हिमाली क्षेत्रमा पुगेका पदयात्रीलाई उपलब्ध गराइने स्वास्थ्य सेवा सराहनीय रहेको बताए । उनका अनुसार यस्तो सेवा सरकारी स्तरबाट पनि विस्तार हुनुपर्ने आवश्यकता छ ।

सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ भने फेरिचेमा सन् १९७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको जनाएको छ ।