२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरान द्वन्द्व चाँडै अन्त्य गर्ने ट्रम्पको सङ्केत



US President Donald Trump speaks to members of the media aboard Air Force One as he travels from Washington, DC to West Palm Beach, Florida, on January 31, 2026. (Photo by SAUL LOEB / AFP)
अ+ अ-

काठमाडौं । इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिनुभएको छ ।

उहाँले आफ्ना निकट सल्लाहकारहरूलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभएको एक प्रतिवेदनले उल्लेख गरेको छ । यसले कूटनीतिक समाधानतर्फ अमेरिका झुकिरहेको सङ्केत गर्छ । वाल स्ट्रिट जर्नलको प्रतिवेदनअनुसार, यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले निजी रूपमा द्वन्द्व अन्तिम चरणमा पुगेको विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले सार्वजनिक रूपमा उल्लेख गरिसक्नुभएको चारदेखि छ हप्ताको समयसीमाभित्रै समाधान निकाल्नुपर्नेमा जोड दिनुभएको बताइएको छ । यो समयसीमा सम्भवतः मे महिनाको मध्यतिर हुने भनिएको चीनका राष्ट्रपति सी जिनपिङसँगको सम्भावित शिखर भेटअघि पर्ने देखिन्छ ।

बिहीबार आयोजित एनआरसिसीको वार्षिक कोष सङ्कलन कार्यक्रममा ट्रम्पले आफूले आठ वटा युद्ध समाधान गरिसकेको दाबी गर्नुभयो र इरानको सन्दर्भमा पनि त्यही उपलब्धि दोहोरिने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले इरान वार्तामा संलग्न रहेको तर सार्वजनिक रूपमा स्वीकार गर्न हिच्किचाइरहेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार इरानभित्रैका शक्तिहरूबाट खतरा हुने डरका कारण उनीहरू खुला रूपमा सम्झौता गर्न सकिरहेका छैनन्, साथै अमेरिकी दबाब पनि उनीहरूका लागि चिन्ताको विषय बनेको छ ।

यसैबीच, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पको प्राथमिकता शान्ति रहेको दोहो¥याउनुभएको छ । उहाँका अनुसार इरानले वार्ताको सङ्केत देखाएपछि केही आक्रमण योजनाहरू स्थगित गरिएको हो । ट्रम्पको कडा चेतावनीपछि इरान वार्तामा आउन तयार देखिएको दाबी गर्दै लेभिटले पछिल्ला केही दिनदेखि वार्ता ‘फलदायी’ भइरहेको बताउनुभयो ।

उहाँले थप स्पष्ट पार्दै इरानलाई पुनः गलत आकलन नगर्न चेतावनी दिनुभयो । पछिल्लो तनावका क्रममा इरानले आफ्नो उच्च नेतृत्व, नौसेना, वायु सेना र हवाई प्रतिरक्षा प्रणालीमा ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै, यदि इरानले वास्तविकता स्वीकार नगरेमा अमेरिका थप कडा कदम चाल्न तयार रहेको सङ्केत दिनुभयो ।

तर अर्कोतर्फ, तेहरानले भने अमेरिकी प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको छैन । इरानले द्वन्द्व अन्त्य आफ्नै सर्त र समयसीमामा मात्र सम्भव हुने अडान दोहोर्‍याएको छ । साथै आफ्नो माग पूरा नभएसम्म प्रतिरोध जारी राख्ने र आवश्यक परे ‘कडा प्रहार’ गर्ने चेतावनी दिएको छ ।