काठमाडौं। काठमाडौं महानगरपालिका र त्रिभूवन विश्वविद्यालयको कानून संकायबीच कानून तर्जुमा, परिमार्जन तथा कार्यान्वयनमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयु) सम्पन्न भएको छ।

महानगरले कार्यान्वयन गर्दै आएका कानूनहरूको सुधार तथा नयाँ कानून आवश्यक पर्ने क्षेत्रहरूको पहिचान गरी सुझाव प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो।
सम्झौता कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगालले स्थानीय तहका कामकारबाहीलाई थप व्यवस्थित, प्रभावकारी र कानूनसम्मत बनाउन यस सहकार्यले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् । उनले संविधान र स्थानीय सरकार सञ्चालन ऐनको मर्मअनुसार निर्माण गरिएका कानूनहरूको प्रभावकारी कार्यान्वयन र विद्यमान कानूनमा रहेका कमजोरी सुधार गर्न एमओयु उपयोगी हुने बताइन्।
उनका अनुसार काठमाडौं महानगरपालिकाले हालसम्म १ सय ६० वटा कानून निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ। ती कानूनहरूको पुनरावलोकन, परिमार्जन तथा आवश्यक नयाँ कानून निर्माणका लागि यो सहकार्यले मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार त्रिभूवन विश्वविद्यालयको कानून संकायले महानगरका विद्यमान ऐन, नियम तथा कार्यविधिहरूको कानूनी परीक्षण गरी आवश्यकताअनुसार नयाँ कानून निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ।
यस सहकार्यले महानगरको कानून निर्माण प्रक्रिया थप सुदृढ बनाउँदै कार्यान्वयनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
न्यूजपोलार
१२ चैत्र २०८२, बिहीबार १७:२१
न्यूजपोलार
१२ चैत्र २०८२, बिहीबार १७:२१
१२ चैत्र २०८२, बिहीबार १७:२१











