काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कुलमान घिसिङले निर्वाचन खर्च विवरण सार्वजनिक गर्दै कुल १४ लाख १० हजार ८० रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
निर्वाचन आयोग, काठमाडौँस्थित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई बुझाइएको विवरणमा घिसिङले निर्वाचन आचारसंहिता र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ बमोजिम सम्पूर्ण खर्च विवरण पेश गरिएको उल्लेख गरेका छन्।
पेश गरिएको विवरणअनुसार नामांकन दर्ता शीर्षकमा १० हजार रुपैयाँ खर्च भएको देखाइएको छ। त्यस्तै प्रचार–प्रसार सामग्री छपाइअन्तर्गत नमुना मतपत्र, ब्यानर, पर्चा तथा प्रतिवद्धता पत्रमा ३ लाख ८० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
यस्तै सवारी साधन भाडा खर्च शीर्षकमा १५ दिनका लागि ३ लाख २० हजार रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ। प्रचार सामग्रीका रूपमा व्याच, टोपी र झण्डा छपाइमा ३ लाख १० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
घरदैलो अभियानका क्रममा खाना खर्चबापत २ लाख ७० हजार ८० रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ। त्यस्तै कार्यालय कोठा भाडा तथा सञ्चालन खर्च एक महिनाका लागि १ लाख २० हजार रुपैयाँ रहेको जनाइएको छ।
समग्रमा प्रस्तुत विवरणअनुसार कुल निर्वाचन खर्च १४ लाख १० हजार ८० रुपैयाँ पुगेको छ। उम्मेदवार घिसिङले यो विवरण निर्वाचन आयोगसमक्ष आधिकारिक रूपमा पेश गरेको जनाइएको छ।












