काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टबीच आइतबार प्राधिकरणको कार्यालयमै छलफल भएको छ।
छलफलका क्रममा गृहमन्त्री गुरुङले मन्त्रालय अन्तर्गतका जोखिमका विषयमा ब्रिफिङ गर्दै आगामी मनसुनअघि नै विपद् व्यवस्थापनका सबै तयारी पूरा गर्न निर्देशन दिनुभएको छ। उहाँले समयमै पूर्वतयारी गरेमा सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भट्टले यस्तो छलफल नियमित प्रक्रिया रहेको उल्लेख गर्दै वर्तमान गृहमन्त्रीको सक्रियताले काम गर्न सहज भएको बताउनुभयो। “यो नियमित प्रक्रिया हो, अन्य गृहमन्त्रीहरू ढिलो आउनुहुन्थ्यो, तर अहिलेको गृहमन्त्री चाँडै आउनुभयो, जसले विपद् व्यवस्थापनका कामलाई सहज बनाएको छ,” उहाँले भन्नुभयो।
गृहमन्त्री गुरुङले आफू विगत १० वर्षदेखि विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा संलग्न रहेको उल्लेख गर्दै यसपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेपछि विपद् हुनुअघि नै न्यूनीकरणमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।












