मुम्बई। रोहित शर्मा र रायन रिकेल्टनको सानदार ब्याटिङमा पाँचपटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आइतबार विजयी सुरुआत गरेको छ ।
वाङ्खेडे स्टेडियममा आइतबार बेलुका भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्यो । कोलकाताले दिएको २२१ रनको लक्ष्य मुम्बईले ५ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।
पूर्वकप्तान रोहितले ३९ बल खेली समान ६ चौका र छक्काका साथ ७८ रन बनाए । दक्षिण अफ्रिकी ब्याटर रिकेल्टन ८१ रनमा रनआउट भए । उनले ४३ बल खेल्दै ४ चौका र ८ छक्का प्रहार गरे ।
सूर्यकुमार यादव ८ बल खेली ३ चौका प्रहार गर्दै १६ र तिलक बर्मा १४ बल खेली ४ चौका प्रहार गरी २० रनमा आउट भए । कप्तान हार्दिक पाण्ड्या ११ बल खेली ३ चौका प्रहार गरी १८ र विजयी चौका प्रहार गरेका नमन धीर २ बल खेली ५ रनमा अविजित रहे ।
केकेआरका लागि सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको तीन पटकको विजेता कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय २० रन बनाएको थियो । मुम्बईबाट भारतको घरेलु क्रिकेट खेल्दै आएका अजिन्क्या रहाने र अङ्क्रिस रघुवंशीले कोलकाताको इनिङ्समा अर्धशतक बनाए । कप्तान रहानेले ४० बल खेली ६७ रन बनाए । उनले ३ चौका र ५ छक्का प्रहार गरे ।
मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए ।