२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाेलिदेखि एसईई परीक्षा, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुने, एक महिनामै नतिजा प्रकाशन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । बिहीवार (भाेलि) देखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीले चैत १९ गते बिहान ८ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जानकारी दिए। उनका अनुसार यस वर्ष देशभरबाट ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

एसईईका लागि देशभर १ हजार ९ सय ६५ र जापानमा १ गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा बढी परीक्षार्थी काठमाडौँमा रहेका छन्, जहाँ १ सय ३५ केन्द्रबाट ४१ हजार १ सय ५५ विद्यार्थी सहभागी हुँदैछन् । सबैभन्दा कम मनाङमा एउटा केन्द्रबाट ३७ जना विद्यार्थीले परीक्षा दिनेछन् भने जापानस्थित केन्द्रबाट २३ जना विद्यार्थी सहभागी हुनेछन् ।

यस वर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना विद्यार्थी पनि परीक्षामा सहभागी हुनेछन् । एक पटक परीक्षामा असफल भएका विद्यार्थीलाई कम्तीमा तीन पटकसम्म परीक्षा दिने अवसर प्रदान गरिएको ज्ञावलीले बताए।

बालसुधार गृहमा रहेका विद्यार्थीका लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सम्बन्धित केन्द्रबाट निरीक्षक खटाएर बालसुधार गृहभित्रै परीक्षा सञ्चालन गरिनेछ । उत्तरपुस्तिका सम्बन्धित केन्द्रमै जाँच हुने वा आवश्यकताअनुसार परीक्षा नियन्त्रण कार्यालय पठाइने व्यवस्था गरिएको छ ।

विशेष क्षमता तथा अपाङ्गता भएका विद्यार्थीका लागि पनि आवश्यक सुविधा व्यवस्था गरिएको छ । उनीहरूलाई अतिरिक्त समय (३ घण्टाको परीक्षामा थप १ घण्टा ३० मिनेट) र लेखन सहयोगी उपलब्ध गराइनेछ । लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थी रहनेछन् र विद्यालयले प्रमाणित गर्नुपर्ने व्यवस्था गरिएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीलाई समयमै परीक्षा केन्द्रमा उपस्थित हुन, प्रवेशपत्र तथा आवश्यक सामग्री साथमा ल्याउन र मोबाइल लगायत निषेधित सामग्री नल्याउन आग्रह गरेको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएकाले साढे ७ बजेसम्म केन्द्रमा पुग्न अनुरोध गरिएको छ ।

यस वर्ष एसईईको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने तयारी गरिएको छ । परीक्षा भएको दिनदेखि नै उत्तरपुस्तिका परीक्षण सुरु गर्ने व्यवस्था मिलाइएकाले विगतमा जस्तो लामो समय कुर्नु नपर्ने ज्ञावलीले स्पष्ट पारे ।

परीक्षा अवधिभर अनुगमनलाई कडाइ गरिने पनि कार्यालयले जनाएको छ । परीक्षार्थीलाई असहज हुनेगरी कक्षामा अनावश्यक भीडभाड नगर्न निर्देशन दिइएको छ भने कुनै समस्या आए तत्काल निरीक्षकलाई जानकारी गराउन आग्रह गरिएको छ ।