काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले वर्तमान सरकार जनताको चाहना र अपेक्षाअनुसार अघि बढ्ने दाबी गर्नुभएको छ ।

शुक्रबार संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उहाँले सरकार र पार्टी दुवै जनताको आकांक्षालाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट गर्नुभयो । सांसद सिंहले जनताले विश्वास गरेर दिएको मतको सम्मान गर्दै त्यसको सही उपयोग हुनेगरी सरकार अघि बढ्ने बताउनुभयो ।
उहाँले सरकारको प्राथमिकतामा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा अडान रहने उल्लेख गर्दै कुनै पनि प्रकारको भ्रष्टाचार र कुशासन स्वीकार नगरिने धारणा राख्नुभयो । जनताले खोजेको परिवर्तन व्यवहारमै देखिने गरी काम अघि बढाइने उहाँको भनाइ थियो ।
सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै सांसद सिंहले आगामी तीन महिनासम्म सरकारका कामकारबाहीलाई सूक्ष्म रूपमा निगरानी गर्न आग्रह गर्नुभयो । सरकारको कार्यशैली र परिणामको आधारमा जनताले नै मूल्याङ्कन गर्ने अवस्था आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
“पार्टी र सरकार दुवै जनताको चाहनाअनुसार अघि बढ्छ । परिवर्तनका लागि जनताले हामीलाई जिम्मा दिएको छ । हामी जनताको जीविकामा परिवर्तन देखाएर जनतामा परिवर्तनको आभास गराउँछौँ,” उहाँले भन्नुभयो ।
उहाँले सरकारलाई प्रभावकारी बनाउन पार्टीभित्र पनि निरन्तर सुधार र कार्यसम्पादनमा जोड दिइने उल्लेख गर्नुभयो । नीति र निर्णयहरूलाई जनमुखी बनाउँदै जनताको विश्वास जित्ने दिशामा सरकार केन्द्रित हुने उहाँको भनाइ थियो ।
यसैबीच, सांसद सिंहले भ्रष्टाचार, बिचौलिया प्रभाव र कुशासनविरुद्ध कठोर अडान कायम राख्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ ।
न्यूजपोलार
२० चैत्र २०८२, शुक्रबार १२:५७
न्यूजपोलार
२० चैत्र २०८२, शुक्रबार १२:५७
२० चैत्र २०८२, शुक्रबार १२:५७










