११ असार २०८३, बिहीबार
,
Latest
रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु होल्डिङ सेन्टरबाट हटाउन खोजेपछि सुकुम्बासीको आक्रोश, ‘स्थायी व्यवस्थापन नभएसम्म जाँदैनौं’ सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी हाम्रो भविष्य बर्बाद भयो भन्दै विद्यार्थीको प्रदर्शन -तस्बिरहरु मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पचास वर्षअघिको फैसला हुन सकेन कार्यान्वयन



अ+ अ-

चितवन । चितवन जिल्ला अदालतमा विसं २०१६ जेठ १२ गते देखिको फैसला कार्यान्वयन हुन नसकेको पाइएको छ । अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार २०१६ सालमा भएको रु तीन हजार दुई सय जरिवानादेखि थपिँदै गएर वक्यौता जरिवाना रु १४ करोड ३२ लाख ५२ हजार ९६८ पुगेको छ ।

गिरीका अनुसार दुई हजार ६९३ जनाबाट सो जरिवाना रकम असुल गर्न बाँकी रहेको हो । यस्तै कैद तर्फ २४७३ वर्ष ११ महिना असुल गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

चार सय ५३ जनाबाट सो कैद भुक्तान गराउनुपर्ने रहेको छ । अदालतले कैद वा जरिवाना तोकेका व्यक्ति जिल्ला र जिल्ला बाहिर रहेका छन् । यस्तै कैद र जरिवाना दुवै लागेका एक हजार १४४ जना रहेको उहाँले जानकारी दिनुभयो ।

गिरीका अनुसार अदालतबाट दोषी ठहर भएका चार हजार २९० जना अहिले पनि समाजमा रहेका छन् । जसमा विदेशी नागरिक ६५ जना रहेका छन् । उनीहरुलाई अदालतले थुनछेक बहसका क्रममा धरौटी वा तारेखमा छोडेको भए पनि फैसला आइसकेपछि उनीहरु सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

सरकारले फैसला कार्यान्वयनमा चासो नदिँदा अदालति फैसला कागजमा मात्र सीमित बन्ने गरेको उहाँको भनाइ छ । फैसला कार्यान्वयनका लागि अदालतले विशेष अभियान सञ्चालन गरेको भए पनि सो अभियानबाट चालु आर्थिक वर्षमा १३ जनालाई मात्र पक्राउ गरिएको छ । उनीहरुबाट आठ महिना र जरिवानास्वरुप रु ८३ हजार २५२ असुली गरिएको श्रेस्तेदार गिरीले जानकारी दिनुभयो ।

यस्तै जिल्लामा हालसम्म १० हजार ७१५ जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् । गत असार १९ गतेबाट यहाँ परिचयपत्र बनाउने कार्य शुरु भएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार अहिले दैनिक नागरिकता बनाउन आउनेलाई राष्ट्रिय परिचयपत्रसमेत बनाउन लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवन स्थापना भएयता जिल्लाबाट पाँच लाख ६८ हजार २७ जनाले नागरिकता लिएका छन् । ती सबैलाई राष्ट्रिय परिचयपत्र निर्माणका लागि प्रशासन कार्यालयले आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।

सरकारले फोटोसहितको बायोमेट्रिक स्मार्टकाड प्रयोग गर्नका लागि परिचयपत्र निर्माणको काम शुरु गरेको हो । व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमीन र अन्य सम्पत्तीको अभिलेख राख्न, सामाजिक सुरक्षाकाडको रुपमा यो परिचयपत्र अघि सारिएको हो ।

व्यक्तिगत विवरणसहित दशवटै औँलाको औँठा छाप, फोटो हुने भएकाले अन्य सामग्री बोकिराख्नुपर्ने झन्झट नहुने उहाँले जानकारी दिनुभयो ।