२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहकार्यमा मोदीको जोड



अ+ अ-

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै साझा समृद्धि र उज्ज्वल भविष्यका लागि निकट सहकार्य गर्न भारत तयार रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँगको भेटका क्रममा प्रधानमन्त्री मोदीले यस्तो धारणा व्यक्त गरेका हुन् ।

भेटपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै मोदीले लामिछानेसँगको छलफलले आफूलाई खुशी दिएको उल्लेख गरेका छन् । उनले नेपाल र भारतबीचको साझा समृद्धि तथा उज्ज्वल भविष्यका लागि नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई हार्दिक स्वागत गर्दै पूर्ण समर्थन रहने बताएका छन् ।

मोदीले भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई प्राथमिक साझेदार राष्ट्रका रूपमा लिइएको स्पष्ट गर्दै दुई देशबीचको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको पनि उल्लेख गरेका छन् ।

रास्वपा सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणका लागि जेठ १८ गते भारत प्रस्थान गरेको हो ।

उक्त प्रतिनिधिमण्डलमा लामिछानेकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपीनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य सहभागी छन् ।