२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’



अ+ अ-

काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आयुर्वेद, योग तथा ध्यानजस्ता परम्परागत एवं प्राचीन उपचार पद्धतिलाई आधुनिक स्वास्थ्य प्रणालीसँग जोडेर सुलभ, सहज र दीर्घकालीन स्वास्थ्य लाभ हासिल गर्न सकिने बताउनुभएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा ‘ब्रह्मभूमि हेल्थ रिसर्च सेन्टर’द्वारा आज आयोजित ‘आयुर्वेद, योग तथा ध्यानमार्फत् स्वास्थ्य’शीर्षकको अन्तर्राष्ट्रिय सङ्गोष्ठीको समुद्घाटन गर्दै उहाँले योगमार्फत जीवनशैलीजन्य रोग रोकथाम र ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपतिले आयुर्वेद स्थानीय जडीबुटी तथा परम्परागत ज्ञानमा आधारित उपचार पद्धति भएको उल्लेख गर्दै रोगको पहिचान, रोकथाम तथा निदानात्मक उपचार सेवामा यसको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । “नेपालको संविधानले नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ”, उहाँले भन्नुभयो, “यस मूल मर्मअनुरूप आधुनिक चिकित्ससँगै आयुर्वेद, योग तथा ध्यानलाई प्रोत्साहन गर्ने सरकारी कदम सकारात्मक र दूरदर्शी छ । यसको लाभ सबैले लिन सक्नुपर्दछ ।”

विश्वव्यापी महामारी, मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा जलवायु परिवर्तनजस्ता चुनौतीको सामना गर्न बहुपक्षीय सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीचको सहकार्यलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उपराष्ट्रपतिले भन्नुभयो, “विद्यालय, समुदाय तथा कार्यस्थलमा योग तथा ध्यानलाई प्रोत्साहन गर्नुपर्ने र ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्दा आयुर्वेद र योगलाई प्राथमिकतामा राख्न सक्नुपर्दछ ।”