काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८३/०८४ का लागि माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा प्रस्तुत गरेको बजेटप्रति आफ्नो विशेष ध्यानाकर्षण भएको जनाएको छ। नाडाले बजेटमा समेटिएका केही सकारात्मक पक्षको स्वागत गर्दै सवारी साधनमा थपिएको कर व्यवस्थाप्रति भने चिन्ता व्यक्त गरेको छ।
नाडाका अनुसार सरकारले विद्युतिय सवारी साधनमा लाग्दै आएको अन्तःशुल्क हटाएर ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ लागू गर्ने व्यवस्था गरेको छ। साथै, वर्तमान कर नीतिले विद्युतिय मात्र नभई इन्धनबाट सञ्चालन हुने सवारी साधनको मूल्यसमेत बढ्ने देखिएको नाडाको भनाइ छ।
नेपाल विश्व व्यापार संगठनको सदस्य बनेको दुई दशक पूरा भइसकेको तथा कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने चरणमा रहेको सन्दर्भमा नाडाले सवारी साधनमा थप कर वृद्धि नगर्ने अपेक्षा गरेको जनाएको छ।
यसअघि सरकारले मोटरको पिक पावरको आधारमा महसुल निर्धारण गर्दै आएकोमा नयाँ बजेटले कारोबार मूल्यका आधारमा महसुल निर्धारण गर्ने व्यवस्था गरेको छ। नाडाले स्थिर कर नीतिको माग गर्दै आएको उल्लेख गर्दै सरकारले विशेषगरी विद्युतिय सवारी साधनमा प्रवर्द्धनात्मक नीति लिने प्रतिबद्धता जनाएको भए पनि अब मूल्यका आधारमा कर निर्धारण गर्ने तथा अतिरिक्त शीर्षकमार्फत थप शुल्क लगाउने निर्णयले अधिकांश सवारी साधनको मूल्य बढ्ने अवस्था सिर्जना हुने जनाएको छ।
नाडाले सवारी साधनको मूल्य स्थिरता कायम गर्न नेपाली रुपैयाँको सट्टा अमेरिकी डलरको आधारमा कर निर्धारण गर्नु बढी व्यावहारिक हुने सुझाव पनि दिएको छ।
यद्यपि, बजेटमा सडक पूर्वाधार निर्माणका लागि करिब ३ खर्ब रुपैयाँ विनियोजन गर्दै अधुरा सडक तथा राजमार्ग समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाइएको विषयलाई नाडाले सकारात्मक रूपमा लिएको छ। यसले सरकार पूर्वाधार विकासप्रति प्रतिबद्ध रहेको स्पष्ट हुने र द्रुतगतिमा पूर्वाधार निर्माण भए समग्र अटोमोबाइल व्यवसाय पनि थप गतिशील हुने अपेक्षा गरिएको छ।
नाडाले बजेट केही महत्वाकांक्षी देखिए पनि यसको प्रभावकारी कार्यान्वयन हुन सके देशको अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेको छ। समग्रमा बजेट सन्तुलित र भविष्य निर्माणमुखी रहेको नाडाको निष्कर्ष छ।












