काठमाडाैँ । पोर्चुगलस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसिसि) ले संस्थाको नाम दुरुपयोग गरी ठूलो रकम संकलन गरिएको र उक्त रकम संस्थाको खातामा नपुगेको आरोप लगाउँदै प्रेस विज्ञप्ति जारी गरेको छ।
विज्ञप्तिअनुसार संस्थाको नाम र आधिकारिक रसिद प्रयोग गरी विभिन्न व्यक्ति तथा समूहहरूले अनधिकृत रूपमा आर्थिक संकलन गर्दै व्यक्तिगत रूपमा प्रयोग गरेको दाबी गरिएको छ। यसरी संकलन गरिएको रकममध्ये करिब २६,६५७.६८ युरो संस्थाको बैंक खातामा जम्मा नभएको देखिएको संस्थाले जनाएको छ।
संस्थाले यस विषयमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइसकेको जनाएको छ। साथै, प्राप्त प्रमाण तथा बैंकिङ अभिलेखका आधारमा आर्थिक अनियमितता र दुरुपयोगबारे विस्तृत अध्ययन भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
एनआरएनए एनसिसि पोर्चुगलका अनुसार सन् २००६ मा स्थापना भएको संस्था पोर्चुगलमा रहेका नेपालीहरूको सामाजिक, सांस्कृतिक तथा सामुदायिक प्रतिनिधित्व गर्दै आएको र हाल यसको वैधानिक व्यवस्थापन वर्तमान अध्यक्ष सुजन लामा नेतृत्वको टोलीमार्फत आधिकारिक रूपमा अद्यावधिक गरिएको हो।
संस्थाले अबदेखि आफ्नो नाम, लोगो, संरचना तथा आधिकारिक पहिचानको अनधिकृत प्रयोग नगर्न सबै पक्षलाई कडा चेतावनी दिएको छ। साथै, भविष्यमा कुनै पनि प्रकारका गैरकानुनी वा अनधिकृत आर्थिक गतिविधि भए कडा कानुनी कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।
विज्ञप्तिमा उक्त प्रकरणबारे आगामी दिनमा नेपाली समुदायका सरोकारवालासँग छलफल गरी थप विवरण सार्वजनिक गरिने उल्लेख गरिएको छ।












