२५ जेष्ठ २०८३, सोमबार
,
Latest
संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर दाउन्नेमा बस दुर्घटना, सात जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर



अ+ अ-

बाँके। बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको ।

यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ ।

शिख समुदायको यो सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिनुभएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उहाँका बुबा जबर सिंहबाट सुरु भएको थियो ।

नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध हुनुभयो । हाल उहाँका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहनुभएको छ ।

“सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ”, सुरेन्द्र मुस्कुराउँदै भन्नुहुन्छ, “देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।”

यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गर्नुभयो । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत हुनुहुन्छ । नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसक्नुभयो ।

सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गर्नुभएको थियो । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उहाँको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । “बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि”, उहाँ भन्नुहुन्छ, “हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।”

नेपालगन्ज–१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताउनुभयो । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैँमा गौरवको विषय भएको उहाँको भनाइ छ । रासस