३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

म जहिल्यै हार्नेको सपोर्टर !



अ+ अ-

हार्ने टोलीको समर्थक हुँदा प्रत्येक जित विशेष लाग्ने रहेछ । फिफा विश्वकप २०८३ आज रातिदेखि सुरु भइसकेको छ ।

संयुक्तराज्य अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रुपमा आयोजना गरेको यस प्रतियोगितामा ४८ देशले भाग लिएका छन् । विभिन्न देशका शुभचिन्तक साथीहरुले जर्सी लगाएर आफ्नो बेजोड समर्थन सामाजिक संजाल मार्फत देखाउँदै रहेछन् । मलाई भने २८ गते बिहानसम्म पनि मेरो समर्थनको देश रोज्न धौ–धौ परेको छ ।

छोटो स्मरण 

म भने टोले फुटबल खेलाडी थिएँ बाल्यकालमा । मलाई साथीहरुले प्रायः साइड प्लेयर बनाइदिन्थे तर म भने साइड चेपेर फरवार्डमा पुग्थेँ । हाम्रो पालामा  रातो कार्ड भनेको क्याप्टेनले मलाई सिधै निष्कासन गर्न सक्थ्यो र मेरो स्थानमा उसलाई बरफ वा ढुंग्रे खुवाउने साथीलाई नियुक्ति गर्थ्यो । कुनै खेलाडी नथाकेसम्म म दर्शक हुन्थे, पोष्टको खम्बा मिलाउने, टाढाको बल ल्याउने, आफ्ना टिमका खेलाडीलाई पानीको जोहो गर्ने मेरो काम हुन्थ्यो ।

एक दिनको कुरा हो, हामी बजार वारी र बजार पारिको टिमबीच घमासन फुटबल खेल हुने निश्चित भयो । मोजाको फुटबल प्रति खेलाडी रु.२ का दरले प्रति टिम १२ रुपयाँको बाजी थियो । ६ जना खेलाडीले भरिपूर्ण सो खेलको दर्शक भने हाम्रा जुनियर भाइहरु थिए । रेफ्रीमा निश्पक्ष निर्णय गर्न सक्ने अर्कै टोलका सिनियर खेलाडीलाई नियुक्त गरिएको थियो, जसको पारिश्रमिकका लागि हामीले टिमकाट अतिरिक्त दुई रुपयाँ पचास पैसा खर्चेका थियौं । त्यो समय सायद सन् १९९८ को विश्वकपको आसपासको हुनुपर्छ । पहेँलो र सेतो जर्सी लगाउनु पर्ने निर्णय गरियो ।

घरमा भएको आफ्नै वा साथीको मागेर भए पनि अलि अलि पहेँलो वा सेतो सेतो रङ्ग भएको टिसर्ट खोजेर लगाइयो । जुत्ताको हकमा अनिवार्य थिएन तर खालि खुट्टा हुने भन्दा आफ्नै जुत्ता हुनेले फुल टाइम खेल्न पाउने थियो । साबिकको नुनीगाउँको डगरलाई खेल मैदानको रुपमा छनौट गरियो । बिहानै देखि खेल मैदानको सरसफाई गरियो, वरपरका कर्मी झारको फडानी गरियो । दुईवटा बाँस ल्याएर हामीले हाम्रो पोल तयार गरि धमाधम अभ्यास गर्न थालेका थियौं ।

एक अर्काको टिममा घुषपैठ हुने प्रबल सम्भावनालाई मध्य नजर गरि नयाँ अनुहारको खेलाडीलाई खेल मैदानमा प्रवेश निषेध थियो । समय हेर्नको लागि घडीको सुविधा रेफ्रिसँग मात्र हुने भएकोले उसको मर्जि अनुसार ३,४ मिनेट खेलको समय तलमाथि हुन सक्थ्यो । त्यो विषयमा हार्ने पक्षले झेली भयो भनेर चित्त बुझाउने गर्थ्यो । यसरी निर्धारित समय भन्दा १० मिनेट ढिला खेल सुरू भयो । ढिला हुनुको कारण विपक्षी टिमको गोल किपरमा विवाद थियो । गोल किपर किनेर ल्याएको हो भन्ने हाम्रो टिमको ठम्याई थियो, हामीले पनि अर्को किपर राख्न पाउने सहमति भए पश्चात खेल सुरु भएको थियो ।

निर्धारित समयमा बराबरी भए पश्चात हाम्रो खेल पेनाल्टी सुट आउटमा गयो । हामी पहिल्यै निश्चिन्त थियौं, हामीले पेनाल्टी पायौं भने जित्छौँ भनेर । यो कुरा त्यो बेलाका हाम्रा फुटबल गुरुले पनि स्वीकार गर्नु भएको थियो । हाम्रो टोलीले त्यो बेला साबिकको ब्राजिलको प्रतिनिधित्व गरेको थियो भने विपक्षीले अर्जेन्टिनाको । यसरी हामीले खेल मात्र जितेनौ त्यो बेला मैले म सहित मेरा अरु २ जना खेलाडीलाई गरेको लगानी सुरक्षित गरि रु १२ जितेर अन्य करिब ४,५ वटा खेल खेल्नका लागि पैसा भेला गरेको थियो जसबाट म अलि कमजोर भए पनि पैसाका कारण म खेल मैदानमा निर्बाद रुपमा छिर्न पाउँथे । यो गौरवको विषय थियो ।

मेरो पहिलो विश्वकप

समयक्रममै गाउँमा मेरा छिमेकीको घरमा पहिलो पटक टिभी ल्याउनु भएको थियो । हामीले विश्वकप हेरेको रोनाल्डो खेलाडी भएर विश्वकप खेलेको वर्ष थियो सन् १९९८ । रोनाल्डोे कटको कपालले त्यो बेला बजार खाएको थियो । रोनाल्डो अनुहार अलि अलि मंगोलियन र नेपाली भावको भएर होला धेरैजसो नेपाली उनका फ्यान भएका थिए ।

यो वर्ष जिदानेको हेड गोलले ब्राजिललाई पछि पार्दै फ्रान्सले विश्वकप जितेको थियो भने सोही खेलमा सर्बाधिक चर्चाका रुपमा ब्राजिलका रोनाल्डो थिए जसल सुनको जुत्ता जितेका थिए । त्यो कुरा टिभीमा देख्दा उधुमै अचम्म लागेको थियो । सुनको जुत्ताको जो कुरा थियो, हाल सुनको दाम बढेको बेला रोनाल्डोले पाएको जुत्ताको मूल्य हिसाब गर्नतिर म चाँहि लागिन है । सन् २००२ को विश्वकप पनि ब्राजिलियन रोनाल्डो र रोनाल्डिन्हो, जर्मनीका ओलिभर कान, जर्मनीकै माइकल बालक र मिरोस्लाभ क्लोज जस्ता खेलाडीहरु थिए ।

देशका विभिन्न स्थनमा विश्वकप

यस पछि मेरो स्मरणमा सन् २०१० को विश्पकपका खेलाडीहरु सम्झन्छु । त्यो बेला म कहिले लमजुङ्गको बेसीशहरको होटल टुकुचे तिर त कहिले मनाङ्गे चौतारामा गएर फुटबल हेर्थें । स्पेनको जितमा इनिएस्टाको गोल अझै सम्झना आउँछ । सन् २०१४ र २०१८ को विश्वकप दाङमा बसेर हेरियो भने सन् २०२२ को विश्वकपमा म बैतडीको गोठालापानीमा थिएँ । यसपटकको विश्वकप भने जाजरकोटबाट हेर्दैछु ।

समर्थकको मनोविज्ञान 

समाजको अहिलेको अवस्था अनुसार त हामी धेरै अष्ट्रेलिया,अमेरिका, ईङ्गल्याण्ड, क्यानडा, जापान, दक्षिण कोरियाको समर्थक हुनुपर्ने हो तर खेलको मनोविज्ञान धेरै फरक हुने रहेछ । दक्षिण कोरिया बसेका मेरा साथीहरु पनि अर्जेन्टिनाको जर्सी लगाएर खेल मैदानमा उत्रिएका छन् ।

जब सानो देशले, सानो टोलीले ठुलो टोलीलाई हराउँछ त्यो सफलता अझ रोमाञ्चक लाग्छ । मनोविज्ञान अनुसार प्रायः मानिसहरुले कमजोर वा कम सम्भावना भएको पक्षप्रति सहानुभूति राख्छन् । र स्वतन्त्र सोचको कारण केही व्यक्ति धेरैले रोजेको भन्दा फरक टीम रोज्न मन पराउँछन् ।

त्यसैले गोल गोल भन्दै उफ्रने र यो वर्ष कान्छो भाइ क्यानडामा बस्ने भएकोले केही समय क्यानडाको, मैले पढाएको विद्यार्थी जापानमा भएकोले केही समय जापानको, मावली भाइ कतारमा भएकोले केही समय कतारको, ठूली छोरीको मन पर्ने खेलाडी मेस्सी हो रे । अनि मेस्सीको देश अर्जेन्टिनाको, कान्छी छोरीको बेस्ट खेलाडी क्रिस्टियानो रोनाल्डो हो रे । अनि पोर्चुगलको ऐ एै आगे हेर्दै जाउँ । जय विश्वकप ।

हामी नेपाली फुटबलमा हिरो नभए पनि विश्वकपमा भएका केही सुपरस्टारहरु जसलाई विश्वका धेरै मानिसले समर्थन गर्छन् । त्यसैले सुपर स्टार प्रभाव तथा नेपाल विश्वकपमा नपुगेका कारण पनि सिधै ठूला स्टार खेलाडी भएका देशहरु जस्तै अर्जेन्टिना, ब्राजिल, जर्मनी, स्पेन, पोर्चुगल, फ्रान्स, नेदरल्यान्ड्सका समर्थक धेरै छौं ।

र अन्त्यमा

आजसम्म त अरुलाई गाली गरेर खेल क्षेत्र ध्वस्त भयो भन्थियौं अब त गाली पो कसलाई गर्ने ? तैपनि एन्फाको विवाद समाधान गर्न सके अन्तरराष्ट्रिय स्तरमा नेपालले पनि २, ४ गोल हान्ने आशा जीलवित राख्दैै जय भकुण्डो ।

फोटो- फिफा