काठमाडौं । वाणिज्य बैंकहरूले असार महिनाका लागि निक्षेपकर्ताले पाउने प्रतिफलमा थप कटौती गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर सूचीअनुसार व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका मुद्दती निक्षेपमा ब्याजदर घटाइएको हो।
असार १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। यो दर जेठ महिनाको ४.३४ प्रतिशतको तुलनामा ०.०७ प्रतिशत बिन्दुले कम हो। त्यसैगरी संस्थागत मुद्दती निक्षेपमा औसत ब्याजदर ३.१८ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत बिन्दुले घटेको हो।
२० वटा वाणिज्य बैंकमध्ये ७ बैंकले आफ्नो निक्षेपको ब्याजदर घटाएका छन् भने बाँकी १३ बैंकले अघिल्लो महिनाकै दरलाई यथावत् राखेका छन्। ब्याजदर कटौती गर्ने बैंकमा कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
यता कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकिङ प्रणालीमा तरलता सहज रहँदै गएको र निक्षेप संकलनका लागि तीव्र प्रतिस्पर्धा नरहेको अवस्थाले ब्याजदर घटाउने प्रवृत्ति कायम रहेको बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ। यससँगै मुद्दती निक्षेपमा लगानी गर्ने बचतकर्ताले पाउने प्रतिफल पनि क्रमशः खुम्चिँदै गएको देखिएको छ।












