काठमाडाैँ । अस्ट्रेलियाले फिफा विश्वकप–२०२६ मा विजयी सुरुवात गरेको छ । आइतबार बिहान क्यानडाको बीसी प्लेस भ्यानकुभर स्टेडियममा भएको खेलमा टर्कीलाई २–० ले पराजित गर्दै अस्ट्रेलियाले पहिलो खेलमै तीन अंक जोडेको हो ।
अस्ट्रेलियाको जितमा नेस्टोरी इरानकुन्डा र कोनर मेटकाल्फले एक–एक गोल गरे । खेलको २७औँ मिनेटमा इरानकुन्डाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ७५औँ मिनेटमा मेटकाल्फले अर्को गोल थप्दै अस्ट्रेलियाको जित सुनिश्चित गरे ।
खेलमा टर्कीले बल पोजेसनको करिब ६० प्रतिशत नियन्त्रण राखे पनि गोल गर्न असफल रह्यो । उसले दुई दर्जनभन्दा बढी अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा खाता खोल्न सकेन ।
यस जितसँगै अस्ट्रेलिया समूह ‘डी’ मा ३ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । समान ३ अंक रहेको आयोजक अमेरिका गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । टर्की र पाराग्वे भने अंकविहीन छन् ।
यसअघि आइतबार भएका अन्य खेलमा स्कटल्यान्डले हाइटीलाई पराजित गरेको छ भने कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।
आजको अन्तिम खेल राति पौने ११ बजे जर्मनी र कुराकाओबीच हुने तालिका रहेको छ ।












