४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु



अ+ अ-

गण्डकी।  गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारको आगामी आव २०८३/८४ को बजेटमाथि छलफल सुरु भएको छ ।

आजको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले ‘बजेटमाथि छलफल गरियोस्’ भनी प्रस्ताव पेस गर्नुभयो ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले अघिल्ला बजेटको तुलनामा अहिलेको बजेटमा चालु खर्च घट्नु र पुँजीगत खर्च बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले बजेटमा समेटिएका रोजगारी सिर्जना, लगानी प्रवर्द्धन, कृषिको बजारीकरणलगायत कार्यक्रम कार्यान्वयनमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य लिलबहादुर थापा मगरले नागरिकको माग र आवश्यकतामा आधारित भएर बजेट ल्याउने प्रयास गरेको बताउनुभयो । सरकारले चालु खर्च कम गर्दै जानुपर्ने उहाँको भनाइ छ । उहाँले बजेट निर्माण र वितरणमा प्रणाली बसाल्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसक्दा घाटा बजेट बनाउनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले वर्षौँअघि घोषणा गरेका लोकाहाखोला र पूँडीटार औद्योगिक क्षेत्र निर्माण अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य बिन्दु पौडेलले ‘रिटर्न टु भिलेज’ लगायत आर्थिक उत्पादन र रोजगारी सिर्जनाका महत्त्वपूर्ण कार्यक्रमलाई बजेटले समेटेको बताउनुभयो । पुँजीगत बजेट समयमा खर्च हुन नसक्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेशसभा सदस्य पार्वती तामाङले सरकारको नीति तथा कार्यक्रमलाई आधार मानेर बजेट आएको बताउनुभयो । उहाँले नवप्रवर्तन, उद्यमशीलता, रोजगारी सिर्जना र लगानी प्रवर्द्धनलाई जोड दिइनु बजेटको सकारात्मक पक्ष भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य सीताकुमारी सुन्दास, महेश भट्टराई, भक्तबहादुर कुँवरलगायतले बजेटमाथिको छलफलका क्रममा आ–आफ्ना धारणा राख्नुभएको थियो । रासस