काठमाडौँ। प्रोफेसनल गल्फर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लवमा शुक्रवार सम्पन्न अन्तिम चरण (१८ होल) रोमाञ्चक बन्यो । कुल ७२ होल समाप्तीपछि प्रो.गल्फरद्वय सुवास र भुवन नगरकोटीसँगै एमेच्यार गल्फर सद्भाव आचार्यले समान १८ अन्डर २७० को कार्ड बनाए ।
यससँगै उपाधिका लागि भएको प्लेअफमा सफलता प्राप्त गर्दै सुवास च्याम्पियन भए । चार दिनसम्म चलेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको ट्रफीसँगै सुवासले तीन लाख २० हजार रुपैयाँ पाए । तेस्रो दिनको खेल सकिँदा सुवास एक स्ट्रोकले शीर्ष स्थानमा थिए ।
अन्तिम दिन सुवासभन्दा भुवनले एक स्ट्रोकले राम्रो प्रदर्शन गरेपछि खेल बराबरी भयो । युवा गल्फर सद्भावले दिनकै उत्कृष्ट (६ अन्डर) प्रदर्शन गरे पनि समग्रमा ट्रफीका हकदार बन्न पर्याप्त भएन ।
अन्तिम दिन सुवासले तीन अन्ड र भुवनले चार अन्डर ६९ को कार्ड बनाए । उपविजेता भुवनले दुई लाख ६ हजार रुपैयाँ प्राप्त गरे । एमेच्योर खेलाडी भएकाले सद्भाव व्यावसायिकको नगद पुरस्कार लागि योग्य भएनन् । यद्यपि, उनी एमेच्योरतर्फ पहिलो भएका छन् ।
शुक्रबहादुर राई समग्रमा १५ अन्डर २७३ सहित तेस्रो स्थानमा रहे । उनले अन्तिम दिन तीन अन्डर खेल सकाए । तेस्रो स्थान हासिल गरेका शुक्रबहादुरले १ लाख ६२ हजार रुपैयाँ पाए ।
व्यावसायिकतर्फ दिनेश प्रजापति तीन अन्डर २८५ सहित चौथो र वाङचेन ढोन्डुप एक अन्डर २८७ सहित पाँचौं स्थानमा रहे । चौथो र पाँचौं स्थानमा रहेका दिनेश र वाङ्चेनले क्रमशः एक लाख ४५ हजार र १ लाख २८ हजार रुपैयाँ प्राप्त गरे ।
सूर्य नेपाल गल्फ टुर २०२५–२६ सिजनको यो अन्तिम प्रतियोगिता हो । साबिक विजेता तथा एमेच्योर गल्फर राहुल विश्वकर्मा १० अन्डर २७८ स्कोरसहित एमेच्योरतर्फ दोस्रो स्थान भए । अर्का एमेच्योर तेन्जिङ छिरिङ ७–अन्डर २८१ सहित तेस्रो स्थानमा रहे ।–न्युज एजेन्सी नेपाल












