काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया सुरु हुन अझै दुईदेखि तीन घण्टा लाग्न सक्ने बताइएको छ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले मतदानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार केन्द्रीय सदस्य पदका लागि मात्रै ३७० भन्दा बढी उम्मेदवारी दर्ता भएका छन्।
मतदान प्रक्रिया छिटो सुरु गर्न प्राविधिक टोली र निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र बनाइरहेको उनले बताए। मतदान प्रणाली व्यवस्थापन तथा प्राविधिक परीक्षणको काम जारी रहेकाले केही समय लाग्न सक्ने उनको भनाइ छ।
बुर्लाकोटीका अनुसार एक प्रतिनिधिले मतदान गर्न औसत सातदेखि १० मिनेटसम्म समय लाग्ने अनुमान गरिएको छ। मतदान सम्पन्न भएपछि करिब दुई घण्टाभित्र मतगणनाको नतिजा सार्वजनिक गर्न सकिने तयारी गरिएको उनले जानकारी दिए।
रास्वपाको नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ। मतदान सुरु हुने समय र व्यवस्थापनबारे निर्वाचन आयोगले आवश्यक सूचना जारी गरिरहेको जनाएको छ।
न्यूजपोलार
१० असार २०८३, बुधबार १४:०५
न्यूजपोलार
१० असार २०८३, बुधबार १४:०५
१० असार २०८३, बुधबार १४:०५











