काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरिएको छ। पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक हुन ढिलाइ भएपछि केन्द्रीय निर्वाचन आयोगले नयाँ कार्यतालिका सार्वजनिक गरेको हो।
संशोधित तालिकाअनुसार दोस्रो चरणमा हुने पदाधिकारी निर्वाचनका लागि बिहीबार राति ९ः१५ बजेदेखि १२ः१५ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी राति १ः३० बजे नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ
निर्वाचन कार्यक्रमअनुसार पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण साँझ ६ः३० बजेदेखि ७ बजेसम्म हुनेछ भने दाबी–विरोधको समय राति ८ बजे निर्धारण गरिएको छ।
रास्वपाका सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। अब बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यद्यपि ती पदहरूमा सहमति जुटाउने प्रयास जारी रहेकाले अन्तिम समयमा निर्वाचन आवश्यक नपर्ने सम्भावना पनि रहेको बताइएको छ।
रास्वपाको विधानअनुसार केही पदाधिकारी सभापतिबाट मनोनीत हुने व्यवस्था छ। पार्टीमा एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष मनोनयन गर्न सकिने प्रावधान रहेको छ।
पार्टीको केन्द्रीय समिति १५१ सदस्यीय रहनेछ। सातै प्रदेशका पदाधिकारी पदेन सदस्य रहने व्यवस्था छ भने ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्ने अधिकार सभापतिलाई प्रदान गरिएको छ।











